images
images

सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब सत्ताको लोभमा सिद्धान्तसँग सम्झौता नगर्ने स्पष्ट घोषणा गरेका छन्। उनले कांग्रेसले विगतका राजनीतिक कमजोरीबाट पाठ सिकेको उल्लेख गर्दै अब जनादेश र लोकतान्त्रिक मूल्यलाई केन्द्रमा राखेर मात्रै निर्णय लिने बताएका छन्।

ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै थापाले प्रदेश सरकार गठनका लागि तीन ठूला दल मिलेर सरकार बनाउने अभ्यासप्रति कडा असन्तुष्टि जनाए। उनका अनुसार यस्तो अभ्यासले लोकतान्त्रिक व्यवस्थाको मूल मर्मविपरीत प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने खतरा पैदा गर्छ।

थापाले सत्ता जोगाउने वा सरकारमा सहभागी हुने नाममा राजनीतिक दलहरूले आफ्नो वैचारिक धरातल गुमाउँदै गएको टिप्पणी गरे। उनले २०७२ सालपछि नेपाली राजनीतिमा सत्ता केन्द्रित सोच हाबी हुँदा दलहरूको पहिचान कमजोर बनेको र त्यसको मूल्य अहिले सबैले चुकाइरहेको बताए।

उनले चुनावअघि एउटा दलसँग गठबन्धन गर्ने र निर्वाचनपछि अर्को दलसँग सत्ता साझेदारी गर्ने प्रवृत्तिले जनतामा राजनीतिक दलप्रतिको विश्वास कमजोर बनाएको उल्लेख गर्दै अब यस्तो अभ्यास अन्त्य हुनुपर्ने धारणा राखे।

प्रदेश सरकार गठनबारे कांग्रेसको भूमिका स्पष्ट पार्दै थापाले परिणाम जे आए पनि पार्टीले आफ्नो सिद्धान्तबाट पछि नहट्ने बताए। तीन दल मिलेर सरकार बनाउने प्रस्ताव जनताको मतादेशअनुसार नभएको भन्दै कांग्रेसले त्यसलाई स्वीकार नगर्ने उनले स्पष्ट पारे।

थापाले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकारसँगै बलियो प्रतिपक्ष पनि आवश्यक हुने उल्लेख गर्दै जनादेशको सम्मान, वैचारिक स्पष्टता र राजनीतिक नैतिकतालाई आधार बनाएर अघि बढ्नु नै कांग्रेसको अबको प्राथमिकता हुने बताए।

‘सत्ता प्राप्त गर्नु मात्रै राजनीति होइन,’ उनले भने, ‘हामीले अब सिद्धान्त, जनताको विश्वास र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिनुपर्छ। विगतका गल्ती दोहोरिने छैनन्।’

प्रतिक्रिया दिनुहोस्