images
images

अर्जेन्टिना र इङ्ग्ल्यान्ड आज आमनेसामने, कसले मार्ला बाजी ?

एजेन्सी । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज दुई फुटबल महाशक्ति अर्जेन्टिना र इङ्ग्ल्यान्ड आमनेसामने हुँदैछन्। अमेरिकाको एटलान्टा स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

यस खेलको विजेताले फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। स्पेनले पहिलो सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

साविक विश्वविजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा मैदान उत्रिँदा इङ्ग्ल्यान्ड भने ६० वर्षपछि दोस्रो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छ।

थोमस टुचेलको प्रशिक्षणमा रहेको इङ्ग्ल्यान्डले समूह चरणमा क्रोएसियालाई ४–२ ले हराउँदै प्रतियोगिताको सुरुआत गरेको थियो। त्यसपछि घानासँग गोलरहित बराबरी खेलेको इङ्ग्ल्यान्डले पानामालाई २–० ले हराउँदै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको थियो।

अन्तिम १६ मा डिआर कंगोलाई २–१ ले हराएको इङ्ग्ल्यान्डले क्वार्टरफाइनलमा आयोजक मेक्सिकोलाई १० खेलाडीमा सीमित हुँदै पराजित गरेको थियो। सेमिफाइनल प्रवेशका लागि भएको खेलमा नर्वेविरुद्ध २–१ को पुनरागमन जित निकाल्दा जुड बेलिङ्घमले दुवै गोल गरेका थिए।

यता अर्जेन्टिनाले पनि प्रतियोगिताभर उत्कृष्ट लय कायम राखेको छ। पहिलो खेलमा लियोनेल मेस्सीको ह्याट्रिकको मद्दतमा अल्जेरियालाई ३–० ले हराएको अर्जेन्टिनाले त्यसपछि अस्ट्रिया र जोर्डनलाई पनि पराजित गरेको थियो। नकआउट चरणमा केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा हराउँदै टोली सेमिफाइनलमा पुगेको हो।

कप्तान मेस्सी प्रतियोगिताभर उत्कृष्ट लयमा छन् भने अर्जेन्टिनाका अन्य सात खेलाडीले पनि गोल गरिसकेका छन्। रक्षापंक्तिमा क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेजको जोडी तथा गोलकिपर एमिलियानो मार्टिनेजको प्रदर्शन टोलीका बलिया पक्ष बनेका छन्।

इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन र जुड बेलिङ्घमले समान ६–६ गोल गरेका छन्। विश्वकप इतिहासमा एउटै टोलीका दुई खेलाडीले एउटै संस्करणमा कम्तीमा ६ गोल गरेको यो पहिलो अवसर हो। मार्कस रासफोर्डले एक गोल गरेका छन् भने एन्थोनी गोर्डन र बुकायो साकाले समान तीन–तीन असिस्ट दिएका छन्।

अर्जेन्टिना विश्वकप इतिहासमा छैटौँ पटक सेमिफाइनल खेल्दैछ। यसअघि खेलेका पाँचै सेमिफाइनल जित्दै फाइनल पुगेको अर्जेन्टिनाले आफ्नो शतप्रतिशत कीर्तिमान जोगाउने लक्ष्य राखेको छ। अर्कोतर्फ, ब्राजिलले १९६२ मा लगातार विश्वकप जितेपछि कुनै पनि टोलीले उपाधि रक्षा गर्न सकेको छैन। अर्जेन्टिना त्यही इतिहास दोहोर्‍याउने अभियानमा छ।

आजको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने विश्वकप फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्