काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका गणेश नेपालीको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको वीर अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार नेपालीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। उपचारमा संलग्न चिकित्सकहरूले उनको अवस्था अझै पनि अस्थिर रहेको र कुनै पनि बेला जटिल हुन सक्ने बताएका छन्।
डा. रविलाम श्रेष्ठको नेतृत्वमा उपचार भइरहेको नेपालीलाई बिहीबार दिउँसो अस्पताल ल्याइएलगत्तै ‘कुलिङ’ उपचार सुरु गरिएको थियो। त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएपछि इन्टुबेट गरी भेन्टिलेटरमा राखिएको चिकित्सकहरूले जानकारी दिएका छन्।
चिकित्सकका अनुसार पहिलो चरणको शल्यक्रिया सम्पन्न भए पनि स्वास्थ्यमा अपेक्षित सुधार आएको छैन। उनको अनुहार, टाउको, घाँटी र छातीमा गम्भीर जलन भएको छ भने शरीरका भित्री अंगहरूमा समेत असर पुगेको छ।
‘यति धेरै जलेको बिरामीलाई बचाउन निकै चुनौतीपूर्ण हुन्छ। ब्लड सुगर पनि ३०० भन्दा माथि पुगेको छ। हामी निरन्तर उपचारमा जुटेका छौँ,’ उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
थप उपचारका लागि भारत लैजाने तयारी गरिए पनि हालको स्वास्थ्य अवस्थाका कारण अस्पतालबाट बाहिर सार्नु अत्यधिक जोखिमपूर्ण हुने निष्कर्ष चिकित्सकहरूको रहेको छ। भारतमा उपचार टोली तयारी अवस्थामा रहे पनि बिरामीको अवस्था स्थिर नभएकाले तत्काल स्थानान्तरण नगर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्