images
images

प्रधानमन्त्री बालेनलाई रुलिङ गरेर प्रतिनिधिसभा बैठकमा बोलाउन माग

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा प्रधानमन्त्री वा सरकारका तर्फबाट स्पष्ट जवाफ आउनुपर्ने माग दोहोर्‍याएका छन्।

नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग आफूहरूले निरन्तर उठाउँदै आएको बताए। उनले संसदमा देखिएको गतिरोध अन्त्य गर्न संवाद र सहमतिको वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे।

बैठकको सुरुमै सभामुख डोलप्रसाद अर्यालले पहिलो बैठकका क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै प्रयोग गरेको विवादास्पद अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएका थिए।

त्यसपछि नेकपाका सांसद परशुराम तामाङले नेपालले कहिल्यै पनि कुनै देशको भूमि नमिचेको उल्लेख गर्दै छिमेकीसँग मित्रवत् सम्बन्ध कायम राख्दै आफ्नो मिचिएको भूमि फिर्ता माग्नु नेपालको वैध अधिकार भएको बताए।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिबारे सरकारले संसदमा स्पष्ट जवाफ दिनुपर्ने माग गरे। उनले सामाजिक सञ्जालमा बढ्दो गालीगलौजको प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गर्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने धारणा राखे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले पनि सांसदहरूले उठाएका विषयमा सरकारले अहिलेसम्म स्पष्ट धारणा नदिएको भन्दै सभामुखको पहल प्रभावकारी हुन नसकेको टिप्पणी गरे।

सांसदहरूको निरन्तर मागका बीच पनि सरकारले स्पष्ट जवाफ नदिएपछि प्रतिनिधिसभामा राजनीतिक तनाव कायमै रहेको छ।

प्रतिक्रिया दिनुहोस्