images
images

आङ्देम्बेको कटाक्ष– भाइरलको होइन, देशको चिन्ता गर्नुस् प्रधानमन्त्रीज्यू

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सामाजिक सञ्जालमा भाइरल हुनेभन्दा देश सञ्चालनमा केन्द्रित हुन आग्रह गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै आङ्देम्बेले प्रधानमन्त्रीको भूमिका लोकप्रियता खोज्ने नभई जिम्मेवार नेतृत्व दिने भएको उल्लेख गरे।

“सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, अब भाइरल हुने बाटो त्याग्नुस्। तपाईं देशको प्रधानमन्त्री भइसक्नुभएको छ,” उनले भने।

प्रधानमन्त्रीलाई लक्ष्य गर्दै उनले सही दिशामा देश हाँक्न आग्रह गर्दै भने, “सही ढंगले एक्सप्रेस–वेमा ड्राइभ गर्नुहोस्। दुर्घटनामा पर्दा तपाईं मात्र होइन, सिंगो देश दुर्घटनामा पर्न सक्छ।”

आङ्देम्बेले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै संसदलाई बेवास्ता गर्न नहुने बताए। सरकार संसदको विश्वासबाट बनेकाले प्रधानमन्त्रीले संसदको सम्मान र जवाफदेहिता कायम राख्नुपर्ने उनको भनाइ थियो।

उनले प्रधानमन्त्रीको पछिल्लो १०० दिनको कार्यशैलीप्रति टिप्पणी गर्दै सत्ता प्राप्त गरेपछि संसदको भूमिका बिर्सन नहुने उल्लेख गरे।

“धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन। तपाईं सत्ताको धुरी चढ्ने अनि त्यही धुरीमा पुर्‍याउने संसदलाई नै अवमूल्यन गर्ने?” उनले प्रश्न गरे।

प्रधानमन्त्रीको प्राथमिकतामा संसद नपरे संसदीय लोकतन्त्र कसरी सुदृढ हुन्छ भन्दै उनले सामाजिक सञ्जालमा सन्देश लेख्नुभन्दा संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने दायित्व प्रधानमन्त्रीको रहेको बताए।

“लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन,” भन्दै आङ्देम्बेले प्रधानमन्त्रीलाई जनप्रतिनिधिमूलक संस्थाप्रति थप जिम्मेवार बन्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्