images
images

फुटबललाई धेरै कुरा दिएर खाली हात बिदा भए नेयमार

काठमाडौं । ब्राजिलियन फुटबलका चम्किला स्टार नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गर्दै राष्ट्रिय टोलीसँगको आफ्नो १६ वर्ष लामो यात्रा टुंग्याएका छन्। तर, विश्व फुटबलका सर्वाधिक प्रतिभाशाली खेलाडीमध्ये एक मानिने नेयमारको करिअर अन्त्य हुँदा एउटा प्रश्न भने सधैं रहनेछ—यति धेरै प्रतिभा भएर पनि उनले किन विश्वकप र बालोन डी’ओर जित्न सकेनन्?

फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा नर्वेसँग २–१ को हारसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरियो। त्यसपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय सार्वजनिक गरे।

भावुक हुँदै उनले भने, “मैले आफ्नो सम्पूर्ण प्रयास गरें। मेरो राष्ट्रिय टोलीको यात्रा यही मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो र यहीं आएर समाप्त भयो। अब यो अध्याय सकिएको छ।”

सन् २०१० मा अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट ब्राजिलका लागि डेब्यु गरेका नेयमारले संयोगवश त्यही न्यू जर्सीस्थित मेटलाइफ स्टेडियमबाट राष्ट्रिय टोलीको अन्तिम खेल पनि खेले।

नर्वेविरुद्धको खेलमा दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले इन्जुरी समयमा पेनाल्टीमार्फत एक गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

एक दशकभन्दा बढी समय ब्राजिलको आक्रमण सम्हालेका नेयमारले आफ्नो करिअरमा सयभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्दै ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाए। उनले घरेलु क्लब सान्तोसदेखि बार्सिलोना, पेरिस सेन्ट-जर्मेन र अल–हिलालसम्म उत्कृष्ट प्रदर्शन गरे। क्लब फुटबलमा उनले UEFA च्याम्पियन्स लिग, ला लिगा, लिग वान, कोपा लिबर्टाडोरेससहित थुप्रै उपाधि जिते।

तर, राष्ट्रिय टोलीका लागि सबैभन्दा ठूलो सपना भने अधुरै रह्यो। उनले चारवटा विश्वकप खेले पनि ट्रफी उचाल्न सकेनन्। २०१४ को विश्वकपमा चोटका कारण सेमिफाइनल गुमाउनु, २०१८ र २०२२ मा क्वार्टरफाइनलबाट बाहिरिनु र अन्तिम विश्वकप २०२६ मा प्रि–क्वार्टरफाइनलमै यात्रा टुंगिनुले उनको विश्वकप सपना कहिल्यै पूरा हुन सकेन।

व्यक्तिगत रूपमा पनि उनले विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित बालोन डी’ओर अवार्ड जित्न सकेनन्। लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको प्रभुत्वबीच नेयमार धेरैपटक उत्कृष्ट प्रदर्शनका बाबजुद शीर्ष व्यक्तिगत सम्मानबाट वञ्चित भए।

पछिल्ला केही वर्ष लगातारको चोटले उनको प्रदर्शनमा ठूलो असर पुर्‍यायो। विशेषगरी दायाँ खुट्टाको पिँडुलाको समस्याले उनले यस विश्वकपमा पनि सीमित अवसर मात्रै पाए।

ब्राजिलका कप्तान मार्किन्होसले नेयमारको योगदानको प्रशंसा गर्दै अब नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने समय आएको बताए। उनले समर्थकसँग धैर्य राख्न आग्रह गर्दै ब्राजिलको भविष्य युवा खेलाडीहरूको हातमा रहेको उल्लेख गरे।

नेयमारको सन्न्याससँगै ब्राजिल फुटबलको एउटा स्वर्णिम अध्याय समाप्त भएको छ। उनले आफ्नो अद्भुत सीप, ड्रिब्लिङ, सिर्जनात्मक खेल र असंख्य अविस्मरणीय क्षणमार्फत विश्व फुटबललाई धेरै दिए। तर, विश्वकप ट्रफी र बालोन डी’ओरजस्ता सबैभन्दा ठूलो सम्मानबिना राष्ट्रिय टोलीबाट बिदा हुनु उनको करिअरको सबैभन्दा ठूलो अपूरो सपना बनेर रहनेछ।

प्रतिक्रिया दिनुहोस्