images
images

डियोगो जोटालाई सम्झेर धुरुधुरु रोए क्रिस्टियानो रोनाल्डो

काठमाडौं । पोर्चुगलले क्रोएसियालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएपछि खेलाडीहरूले जितको उत्सव मनाए। तर त्यो खुसीको क्षणमा कप्तान क्रिस्टियानो रोनाल्डोका आँखा भने दिवंगत सहकर्मी डियोगो जोटाको सम्झनामा रसाए।

खेलपछि टोलीले सामूहिक तस्बिर खिचाउँदा रोनाल्डोले जोटाको नम्बर २१ नम्बरको जर्सी हातमा समातेर श्रद्धाञ्जली अर्पण गरे। तस्बिर खिचिसकेपछि उनले सोही जर्सी लगाउँदै आकाशतर्फ औंला उठाएर आफ्ना स्वर्गीय साथीलाई सम्झिए। त्यसपछि मैदानमा ‘ल्याप अफ अनर’ गर्ने क्रममा रोनाल्डो भावुक बने र आफ्ना आँसु रोक्न सकेनन्।

पोर्चुगल अमेरिकामा जितको उत्सव मनाइरहँदा त्यसको भोलिपल्ट जोटाको पहिलो पुण्यतिथि परेको थियो। यही कारण यो जित टोलीका लागि थप भावुक क्षण बनेको थियो।

खेलपछि आधिकारिक प्रसारणकर्तासँग कुरा गर्दै रोनाल्डोले भने, “आजको दिन मेरो लागि निकै विशेष र भावुक छ। लगभग एक वर्षअघि यही दिन हामीले डियोगो जोटालाई गुमाएका थियौं।”

डियोगो जोटाको सन् २०२५ जुलाई ३ मा स्पेनको जामोरा प्रान्तस्थित ए–५२ राजमार्गमा भएको सवारी दुर्घटनामा निधन भएको थियो। आफ्ना भाइ आन्द्रेसँगै यात्रा गरिरहेका बेला उनी सवार ल्याम्बोर्गिनी कार अनियन्त्रित भई सडकबाट बाहिरिएको र त्यसपछि आगलागी हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो।

पोर्चुगलको ऐतिहासिक जितसँगै रोनाल्डोले आफ्ना दिवंगत सहकर्मीलाई दिएको भावुक श्रद्धाञ्जलीले विश्व फुटबल समर्थकलाई फेरि एकपटक डियोगो जोटाको सम्झनामा भावुक बनाएको छ।

प्रतिक्रिया दिनुहोस्