काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन्। चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले शपथग्रहण कार्यक्रम आयोजना गरिएको हो।
महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो। पार्टी विधानअनुसार अब थप ५१ जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ।
शपथग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पार्टीको प्रतीकस्वरूप घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए।
महाधिवेशनपछि निर्वाचित नेतृत्वले अब पार्टीको सांगठनिक विस्तार, नीति निर्माण र आगामी राजनीतिक कार्यदिशालाई अघि बढाउने जिम्मेवारी सम्हाल्नेछ।
प्रतिक्रिया दिनुहोस्