काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको नामावली सच्याएको छ। मत परिणाम र उम्मेदवारीका क्रममा पेश भएका कागजात पुनः अध्ययनपछि केन्द्रीय निर्वाचन आयोगले संशोधित सूची सार्वजनिक गरेको हो।
निर्वाचन आयोगका अध्यक्ष भुवन केसीका अनुसार उम्मेदवारहरूले बढी मत ल्याएर पनि क्लस्टर मिलाउने क्रममा अन्याय भएको गुनासो गरेपछि मत परिणाम र सम्बन्धित प्रमाणहरूको पुनः परीक्षण गरिएको थियो।
संशोधित सूचीअनुसार यसअघि निर्वाचित घोषित कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम हटाइएको छ। उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बास्तोलालाई निर्वाचित घोषणा गरिएको छ।
आयोगका अनुसार जनजाति क्लस्टरतर्फ उम्मेदवारीसँगै पेश गरिएका कागजात र मत परिणामको अध्ययन गर्दा कृष्णमान श्रेष्ठको सट्टा ध्रुवकुमार थापामगर निर्वाचित हुनुपर्ने देखिएकाले निर्णय सच्याइएको हो।
यस्तै, गण्डकी प्रदेशतर्फको मत परिणाम पुनः परीक्षण गर्दा सोम शर्माको सट्टा पूजा बास्तोला निर्वाचित हुनुपर्ने पुष्टि भएपछि उनलाई केन्द्रीय सदस्य घोषणा गरिएको आयोगले जनाएको छ।
महाधिवेशन निर्वाचन कार्यविधि–२०८३ अनुसार गरिएको पुनरावलोकनपछि सूची सच्याइएको भन्दै आयोगले संशोधित नतिजा सार्वजनिक गरेको हो।
प्रतिक्रिया दिनुहोस्