images
images

भेनेजुएला भूकम्प : मृतक संख्या ३२ पुग्यो, उद्धार कार्य जारी

काठमाडौं । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ भने सात सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जका अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले देशका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएका छन्। भूकम्पपछि दर्जनौँ भवन भत्किएका छन् भने धेरै मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको छ।

सबैभन्दा बढी क्षति ला गुआइरा राज्यमा भएको जनाइएको छ। प्रभावित क्षेत्रमा मानवीय संकट गहिरिँदै गएको भन्दै सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकतामा राखेको छ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा आपत्कालीन उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालित छन्। भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

सरकारले प्रभावित क्षेत्रमा राहत सामग्री, स्वास्थ्य सेवा र अस्थायी आवासको व्यवस्था गर्न थालेको छ। साथै भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम पनि जारी रहेको जनाइएको छ।

भूकम्पपछि प्रभावित क्षेत्रमा त्रासको अवस्था कायम रहेको छ भने हजारौँ स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्