विश्व फुटबलका वर्तमान सुपरस्टार केलियन एमबाप्पे र एर्लिङ हालान्डले समान दुई–दुई गोल गर्दै चर्चा बटुलिरहेका दिन अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भने सबैभन्दा बढी चम्किएका छन्। ३८ वर्षीय मेस्सीले अल्जेरियाविरुद्ध आफ्नो पहिलो विश्वकप ह्याट्रिक पूरा गर्दै एकै खेलमा अनेकौं कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
अल्जेरियाविरुद्ध तीन गोल गरेसँगै मेस्सीको विश्वकप गोल संख्या १६ पुगेको छ। यससँगै उनले जर्मनीका मिरोस्लाभ क्लोजेको नाममा रहेको विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेका छन्। यति मात्र होइन, विश्वकपका ६ वटा संस्करण खेल्ने इतिहासकै पहिलो खेलाडी बनेर उनले अर्को दुर्लभ उपलब्धि पनि हासिल गरेका छन्। आफ्ना चिरप्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोलाई एक दिनले पछि पार्दै उनले यो कीर्तिमान कायम गरेका हुन्।
सन् २००६ को जर्मनी विश्वकपमा १८ वर्षको उमेरमा डेब्यु गरेका मेस्सी ठीक २० वर्षपछि पनि मैदानमा उस्तै प्रभावशाली देखिएका छन्। खेलको सुरुआतमै उनले गोल गरेजस्तो देखिए पनि अफसाइडका कारण त्यो प्रयास मान्य भएन। तर त्यसले उनको आत्मविश्वासमा कुनै असर पारेन।
खेलको १८औँ मिनेटमा मेस्सीले करिब २५ यार्ड टाढाबाट गरेको शानदार प्रहारले जाली चुम्यो। फ्रान्सेली फुटबलका महान् खेलाडी जिदानका छोरा लुका जिदानले बल रोक्ने प्रयास गरे पनि सफल हुन सकेनन्। गोलपछि मेस्सीले उत्साहका साथ खुसी मनाएका थिए।
दोस्रो हाफमा पनि मेस्सीको जादु जारी रह्यो। ६०औँ मिनेटमा गोलरक्षक लुका जिदानको गल्तीको फाइदा उठाउँदै उनले व्यक्तिगत दोस्रो गोल थपे। यो गोलसँगै उनी विश्वकपको एकै खेलमा दुई गोल गर्ने सबैभन्दा पाका खेलाडी बने।
खेलको ७६औँ मिनेटमा निको गोन्जालेजको उत्कृष्ट पासमा मेस्सीले शक्तिशाली प्रहार गर्दै ह्याट्रिक पूरा गरे। बल जालीमा पुगेपछि रंगशाला अर्जेन्टिनी समर्थकहरूको उत्सवले भरिएको थियो। मेस्सीले हात आकाशतर्फ उठाएर त्यो विशेष क्षणलाई आत्मसात गरेका थिए।
खेलपछि प्रतिक्रिया दिँदै मेस्सीले परिवार, टोलीका साथीहरू र सधैँ साथ दिने समर्थकहरूसँग यस्तो विशेष क्षण बाँड्न पाउँदा अत्यन्त खुसी लागेको बताए। उनले प्रतियोगिताको सुरुआत जितबाट हुनु महत्त्वपूर्ण रहेको पनि उल्लेख गरे।
पूर्व इंग्ल्यान्ड मिडफिल्डर लियोन उस्मानले मेस्सीको प्रदर्शनबारे टिप्पणी गर्दै उमेरले उनलाई छोएकै छैन जस्तो देखिएको बताएका छन्। मैदानबाट बाहिरिँदा दर्शकहरूले उनलाई उभिएर सम्मान दिएका थिए भने खेल सकिएपछि पनि हजारौँ अर्जेन्टिनी समर्थक रंगशालामै बसेर उत्सव मनाइरहेका थिए।
चार वर्षअघि अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सीले यसपटक पनि टोलीलाई उपाधितर्फ डोर्याउन सक्ने बलियो संकेत दिएका छन्। फुटबलका नयाँ पुस्ताका स्टारहरू चम्किरहेका बेला पनि मेस्सीले उमेरलाई चुनौती दिँदै आफू अझै विश्व फुटबलकै सबैभन्दा उज्यालो तारामध्ये एक रहेको प्रमाणित गरेका छन्।
प्रतिक्रिया दिनुहोस्