काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि फोहोरमैला व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
महानगरको १९औँ नगर अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फोहोर व्यवस्थापनलाई निःशुल्क, सशुल्क, न्यूनीकरण र पुनःप्रयोगमा आधारित प्रणालीमार्फत व्यवस्थित गरिने बताइन्। उनका अनुसार महानगर क्षेत्रलाई सात समूहमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहोर व्यवस्थापन सुधार गर्ने योजना छ।
नीतिअनुसार फोहोर स्थानान्तरण केन्द्रबाट निस्कने फोहोरलाई बञ्चरेडाँडा ल्याण्डफिल साइट मा मेकानाइज्ड मटेरियल रिकभरी फ्यासिलिटी (MRF) मार्फत वैज्ञानिक तरिकाले व्यवस्थापन गरिनेछ। फोहोरमैला सेवा शुल्कलाई ‘प्रदूषकले तिर्ने सिद्धान्त’ अनुसार एकद्वार प्रणालीबाट संकलन गर्ने व्यवस्था पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
महानगरले कर प्रणाली अडिट सुरु गर्ने र करको दायरामा नआएका करदाताको पहिचान गरी राजस्व दायरा विस्तार गर्ने योजना अघि सारेको छ। साथै राजस्व संकलनलाई पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
स्वास्थ्य क्षेत्रमा आयुर्वेद, योग र वैकल्पिक चिकित्सामार्फत स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने नीति समावेश गरिएको छ। निःशुल्क एम्बुलेन्स सेवा निरन्तरता दिने तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क उपचार अनिवार्य कार्यान्वयन गर्ने व्यवस्था पनि उल्लेख गरिएको छ।
त्यस्तै, महानगरले कर्मचारी क्षमता अभिवृद्धि, एकद्वार सेवा केन्द्र विस्तार, तथा प्रविधि र अन्तर्राष्ट्रिय असल अभ्यास आदान–प्रदानमार्फत शहरी विकासलाई अगाडि बढाउने नीति लिएको छ।












प्रतिक्रिया दिनुहोस्