images
images

परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जेठ ३१ गतेदेखि चारदिने औपचारिक भ्रमणका लागि चीन जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भ्रमण कार्यक्रम सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खनालले चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा वाङ यीको निमन्त्रणामा जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीन भ्रमण गर्नेछन्।

भ्रमणका क्रममा बेइजिङमा मन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। वार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हितका विषय तथा द्विपक्षीय सहयोग विस्तारका सम्भावनाबारे छलफल हुने बताइएको छ।

परराष्ट्रमन्त्री खनालले चीनका विभिन्न उच्चस्तरीय सरकारी तथा राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागिता जनाउनेछन्। सम्मेलनमा उनले चिनियाँ व्यवसायी तथा लगानीकर्तासँग अन्तरक्रिया गर्दै नेपालमा विदेशी लगानी आकर्षित गर्ने विषयमा धारणा राख्नेछन्।

यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी भई उनले चीनमा रहेका नेपाली समुदायसँग समेत भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्रमन्त्री खनाल असार ३ गते स्वदेश फर्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्