काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई करका दर पटक–पटक परिवर्तन गरिएको विषयमा कडा प्रश्न गरेका छन्।
प्रतिनिधिसभामा जारी आर्थिक विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले अर्थमन्त्रीले केही सकारात्मक कार्यक्रम ल्याए पनि कर प्रणालीमा गरिएको बारम्बारको परिवर्तनले शंका उत्पन्न गराएको बताए।
सांसद राईले प्रश्न गर्दै भने, “कसको स्वार्थ र इशारामा करका दरहरू पटक–पटक परिवर्तन गर्नुभयो?”
उनका अनुसार संविधानअनुसार संसदमा पेस भइसकेको विधेयक सदनको सम्पत्ति हुने भएकाले सरकारले आफूखुसी त्यसमा परिवर्तन गर्न नपाउने व्यवस्था छ। उनले अर्थमन्त्री संसदभन्दा माथि नरहेको उल्लेख गर्दै करसम्बन्धी निर्णय प्रक्रियामा पारदर्शिता आवश्यक रहेको बताए।
राईले अर्थमन्त्रीको यस्तो कदम विधि निर्माणको सिद्धान्तविरुद्ध मात्र नभई संसदको स्वीकृतिबिना कर लागू गर्ने अभ्याससमेत भएको दाबी गरे।
उनले अर्थमन्त्रीको कदमलाई गम्भीर विषयका रूपमा व्याख्या गर्दै यसबारे छानबिन आवश्यक रहेको माग समेत राखेका छन्।











प्रतिक्रिया दिनुहोस्