काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०२६ नेपाली समयअनुसार आज (बिहीबार) मध्यराति १२ः४५ बजेदेखि सुरु हुँदै छ। विश्वभरका करोडौं फुटबल समर्थकको ध्यान केन्द्रित हुने यो प्रतियोगिता यसपटक नयाँ स्वरूप र विस्तारित सहभागितासहित आयोजना हुन लागेको हो।
यस संस्करणको विश्वकप इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दै छन्। यसअघि कुनै पनि विश्वकप तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गरेका थिएनन्। प्रतियोगिताका खेलहरू तीनै देशका १६ विभिन्न सहरमा सञ्चालन हुनेछन्।
फिफाले यसपटक विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याएको छ। टोली संख्या बढेसँगै खेलहरूको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। प्रतियोगिताभर कुल १०४ खेल खेलाइनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो।
विश्वकप जुन ११ मा मेक्सिकोबाट सुरु हुनेछ भने जुलाई १९ मा अमेरिकाको न्युयोर्कमा हुने फाइनल खेलसँगै प्रतियोगिताको समापन हुनेछ। उद्घाटन अवसरमा तीनै आयोजक राष्ट्रमा विशेष सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिने जनाइएको छ।
यसपटकको विश्वकपमा विश्व फुटबलका स्थापित शक्तिशाली टोलीहरूसँगै नयाँ र उदाउँदा राष्ट्रहरूले पनि प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्। विस्तारित ढाँचाले विभिन्न महादेशका थप राष्ट्रलाई विश्वकपमा स्थान दिलाएको छ, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
विश्व फुटबल महासंघ (फिफा) का अनुसार विश्वकप २०२६ ले दर्शक संख्या, आर्थिक गतिविधि र अन्तर्राष्ट्रिय सहभागिताका हिसाबले नयाँ कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ। आयोजक राष्ट्रहरूले सुरक्षा, यातायात, पूर्वाधार तथा खेल व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको बताएका छन्।
एक महिनाभन्दा बढी समयसम्म चल्ने प्रतियोगितामा विश्वका उत्कृष्ट खेलाडी र राष्ट्रिय टोलीहरू उपाधिका लागि भिड्नेछन्। फुटबल समर्थकहरू विश्वकपको उद्घाटन खेलदेखि फाइनलसम्म उच्चस्तरीय प्रतिस्पर्धा र रोमाञ्चक खेलहरूको प्रतीक्षामा रहेका छन्।













प्रतिक्रिया दिनुहोस्