images
images

विद्युतीय गाडीमा सूचना चुहावट गरेको प्रमाण दिन अर्थमन्त्री वाग्लेको चुनौती

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारण प्रक्रियामा सूचना चुहावट गरेको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा उनले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको दाबी गरे।

बैठकमा बोल्दै वाग्लेले कुनै पनि प्रकारको अनियमितता वा बेइमानी गरेको प्रमाण प्रस्तुत गर्न आग्रह गर्दै त्यसको पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुने बताए। “दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्। म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,” उनले भने।

विद्युतीय सवारीसाधनमा कर निर्धारणका क्रममा सूचना चुहावट भएको आरोपबारे पछिल्ला दिनमा विभिन्न टिप्पणी भइरहेका बेला अर्थमन्त्री वाग्लेले संसद्को समितिमै उपस्थित भएर आरोपको खण्डन गरेका हुन्।

उनले तथ्य र प्रमाणबिना आरोप लगाउने प्रवृत्तिले सार्वजनिक संस्थामाथिको विश्वास कमजोर बनाउने भन्दै यस्ता विषयमा जिम्मेवार ढंगले बहस गर्नुपर्ने धारणा राखे।

विद्युतीय गाडीको कर व्यवस्थासम्बन्धी विषयलाई लिएर सरकारले बजेट सार्वजनिक गरेपछि विभिन्न पक्षबाट प्रश्न उठ्दै आएका छन्। अर्थमन्त्री वाग्लेले भने आफूले कुनै पनि प्रकारको अनुचित लाभ वा सूचना चुहावटमा संलग्नता नरहेको दाबी दोहोर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस्