images
images

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित भएको परराष्ट्रमन्त्रीको प्रष्टोक्ति

काठमाडौँ  । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको समय लिएर उनले सीमा सम्बन्धी विषयबारे प्रष्ट पार्दै नेपाल–भारत सम्बन्धको ऐतिहासिक र कूटनीतिक आधारलाई ध्यानमा राखेर समाधान खोजिने बताए।

उनका अनुसार नेपाल र भारतबीच खुला सीमाका कारण कतिपय स्थानमा दशगजा वरिपरि ‘क्रस होल्डिङ’ र स्थानीय स्तरमा पारापार खेतीपाती गर्ने अभ्यास लामो समयदेखि चलिरहेको छ। प्रधानमन्त्रीको अभिव्यक्ति पनि यिनै जटिल अवस्थासँग सम्बन्धित रहेको उनले बताए।

खनालले सीमासम्बन्धी विषय सन् १८१६ को सुगौली सन्धिसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै समाधान कूटनीतिक वार्ता र ऐतिहासिक दस्तावेजका आधारमा हुने बताए।

उनले प्रधानमन्त्रीले तेस्रो पक्षको मध्यस्थता खोजेको नभई आवश्यक परे ऐतिहासिक सन्दर्भ सामग्रीलाई सहयोगी रूपमा उपयोग गर्न सकिने कुरा मात्र संकेत गरेको स्पष्ट पारे।

संसद्मा सीमा विवाद र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उठेका प्रश्नपछि परराष्ट्रमन्त्रीले यस्तो प्रष्टोक्ति दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्