images
images

भदौ ७ देखि पोखरा–दुबई सिधा उडान सुरु हुने, फ्लाइ दुबईले पायो अनुमति

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दुबईसँग सिधा अन्तर्राष्ट्रिय हवाई सम्पर्क स्थापना हुने भएको छ। आगामी भदौ ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट Flydubai ले पोखरा–दुबई नियमित उडान सञ्चालन गर्ने अनुमति पाएको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) ले फ्लाइ दुबईलाई परीक्षण स्वरूप नियमित उडान सञ्चालन गर्न स्वीकृति दिएको हो। प्रारम्भिक चरणमा एक महिनासम्म उडानको प्रदर्शन, यात्रु चाप र व्यावसायिक सम्भावनाको मूल्याङ्कन गरिनेछ।

उडानका लागि १६७ सिट क्षमताको बोइङ ७३७ विमान प्रयोग गरिनेछ। तालिकाअनुसार विमान साँझ ६:१५ बजे पोखरामा अवतरण गर्नेछ भने ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। यो यात्रा करिब पाँच घण्टाको हुनेछ।

यो नयाँ सिधा हवाई सेवा सुरु भएपछि पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयासलाई महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारीमा जाने–आउने यात्रुहरूको सहजता तथा समग्र हवाई पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्