काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि आजै दिउँसो २ बजेसम्मका लागि सारिएको छ।
बिहान ११ बजे बस्ने तय भएको बैठक विभिन्न राजनीतिक दलहरूबीच जारी छलफल र विशेष कारणवश सुरु हुन नसकेको हो। निर्धारित समयपछि पनि बैठक सञ्चालनको वातावरण नबनेपछि संघीय संसद् सचिवालयले बैठकको समय परिवर्तन गरिएको सूचना जारी गरेको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सभामुखले बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरेको उल्लेख गरिएको छ।
सूचनामा भनिएको छ, “बुधबार बिहान ११ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने भएकाले सम्माननीय सभामुखले आजै दिनको २ बजे बस्ने गरी समय निर्धारण गर्नुभएको छ।”
प्रतिनिधिसभा नियमावलीअनुसार निर्धारित समयको दुई घण्टासम्म पनि बैठक प्रारम्भ हुन नसकेमा सभामुखले बैठक स्थगित गरी अर्को बैठकको सूचना दिन सक्ने व्यवस्था छ। यही कानुनी व्यवस्थाअनुसार बैठकको समय परिवर्तन गरिएको हो।
पछिल्ला केही दिनयता प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन्। अवरोध अन्त्य गर्न सत्ता पक्ष, विपक्षी दल तथा विभिन्न राजनीतिक नेतृत्वबीच छलफल जारी रहेकाले बैठक सञ्चालनमा ढिलाइ भएको बताइएको छ।
सदनको गतिरोधका कारण बजेटमाथिको छलफलसहित विभिन्न विधेयक र संसदीय कार्यसूची प्रभावित हुँदै आएका छन्। दिउँसो २ बजे बस्ने तय गरिएको बैठकमा सहमतिको वातावरण बन्ने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्