images
images

गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक, आजै शपथ

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्। आज अपराह्न ३ बजे राष्ट्रपति कार्यालयमा उनको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।

सम्पत्ति र आर्थिक कारोबारसँग सम्बन्धित विभिन्न विवादका कारण यसअघि गृहमन्त्री पदबाट राजीनामा दिएका गुरुङलाई छानबिन समितिले क्लीन चिट दिएपछि पुनः गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो।

पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको नेतृत्वमा गठित छानबिन समितिले गुरुङको सम्पत्तिसम्बन्धी आरोप पुष्टि हुने आधार नदेखिएको निष्कर्ष निकालेको थियो। समितिले गुरुङसँग रहेको सुन पुर्ख्यौली सम्पत्ति भएको, जग्गा खरिदका विषयमा देखिएका समस्या राज्यको प्रणालीगत कमजोरीसँग सम्बन्धित रहेको तथा व्यवसायी दीपक भट्टसँग शेयर कारोबारमा कुनै सम्बन्ध नरहेको प्रतिवेदनमा उल्लेख गरेको छ।

गुरुङमाथि लागेको आरोपबारे अध्ययन गरी समितिले ४५ पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाएको थियो। सरकारले २८ वैशाख २०८३ मा भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्यका रूपमा रहेका थिए।

समितिको प्रतिवेदनपछि गुरुङमाथि लगाइएका आरोप पुष्टि नभएको निष्कर्ष निकाल्दै सरकारले उनलाई पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्काउने निर्णय गरेको हो। उनको पुनरागमनसँगै गृह प्रशासन र सुरक्षा क्षेत्रका प्राथमिकताबारे समेत चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्