images
images

भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्री खनालको चीन यात्रा, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौं । भारतको औपचारिक भ्रमण सम्पन्न गरेर फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल आगामी साता चीन भ्रमणमा जाने भएका छन्। नेपालका दुई छिमेकी मुलुकसँगको कूटनीतिक सक्रियता बढिरहेका बेला उनको चीन भ्रमण तय भएको हो।

कूटनीतिक स्रोतका अनुसार मन्त्री खनाल जेठ ३१ गते (जुन १४) चीन प्रस्थान गर्नेछन्। भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।

भ्रमण अवधिमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, पूर्वाधार विकास, व्यापार तथा क्षेत्रीय मुद्दाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चीनमा रहेका नेपाली समुदायसँग पनि मन्त्री खनालले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिनसकेको भए पनि दुवै देशका अधिकारीहरूबीच आवश्यक समन्वय भइरहेको जनाएको छ।

मन्त्री खनाल केही दिनअघि मात्र भारत भ्रमणबाट फर्किएका हुन्। भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरलगायत उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए। त्यही क्रममा उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको नेपालको अडान पुनः स्पष्ट पारेका थिए।

चीन भ्रमणका क्रममा पनि नेपाल–चीन सम्बन्धका विविध आयामसँगै सीमा तथा क्षेत्रीय चासोका विषयहरूमा समेत छलफल हुन सक्ने कूटनीतिक वृत्तको अनुमान छ। नेपालले दुवै छिमेकीसँग सन्तुलित र हितमैत्री सम्बन्धलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा मन्त्री खनालको चीन भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्