images
images

एसियन गेम्स छनोट: मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ । ओपनर कुशल भुर्तेलको कीर्तिमानी प्रदर्शनमा नेपालले मलेसियालाई पराजित गर्दै एसियाली खेलकुद (एसियाड) छनोटको सेमिफाइनलमा समूह विजेताको रूपमा प्रवेश गरेको छ।

सिंगापुर नेशनल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १६८ रनको फराकिलो अन्तरले पराजित गरेको हो। यस जितसँगै नेपाल समूह ‘ए’ को विजेता बनेको छ भने मलेसिया उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ।

समूह चरणको पहिलो खेलमा चीनलाई पराजित गर्दै नेपाल र मलेसिया दुवैले पहिले नै एसियाडमा स्थान सुरक्षित गरिसकेका थिए। तर आजको खेलपछि समूह विजेताको टुंगो लागेको हो।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको विशाल योगफल बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले शानदार शतक प्रहार गर्दै ५४ बलमा १२६ रन बनाए। उनले १४ चौका र ८ छक्का प्रहार गर्दै आक्रामक इनिङ्स खेले।

त्यसअघि उनले ४४ बलमा शतक पूरा गर्दै टी–२० आईमा लगातार दोस्रो शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए। आशिफ शेखले २४ बलमा ६८ रनको योगदान दिए भने कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन बनाए।

सन्दीप जोराले १५ र लोकेश बलमेले १० रन जोडे। कुशल मल्ल ९ रन र सोमपाल कामी १ रनमा अविजित रहे।

मलेसियाका लागि विरनदिप सिंहले ३ विकेट लिए भने सयाद अजिज र विजय उन्नीले समान २ विकेट हात पारे।

२७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रनमै सीमित भयो। मलेसियाका कप्तान सयाद अजिजले सर्वाधिक ५४ रन बनाए भने सरभिन मुनिएन्डीले १८ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। शेर मल्लले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट लिए।

यस जितसँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ र एसियाड छनोटमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्