काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएको केही समयमै परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जाने भएका छन्।
भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा खनाल शनिबार तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ। खनालले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल तथा अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गराउने प्रयास भइरहेको छ, यद्यपि त्यसको अन्तिम टुंगो लागिसकेको छैन।
भ्रमणका क्रममा कनेक्टिभिटी, सीमा सम्बन्धी विषय, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलमार्ग, जनकपुर–अयोध्या रेल सेवा, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान विस्तार तथा व्यापार र पारवहनसँग सम्बन्धित मुद्दाहरूमा छलफल केन्द्रित हुने बताइएको छ।
खनालको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका समसामयिक विषयमा संवाद र सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।








प्रतिक्रिया दिनुहोस्