काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशको आर्थिक अवस्था र प्रमुख सूचकहरू सार्वजनिक गरेका छन् ।
आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ । यससँगै नेपालको कुल अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।
सर्वेक्षणमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १,५३५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व आर्थिक अवस्था प्रतिकूल भए पनि नेपालको अर्थतन्त्र विस्तार भइरहेको अर्थमन्त्री वाग्लेले बताएका छन् ।
क्षेत्रगत योगदानतर्फ कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको हिस्सा २४ प्रतिशत र गैर–कृषि क्षेत्रको हिस्सा ७६ प्रतिशत रहने देखिएको छ ।
प्रदेशगत विवरणअनुसार बागमती प्रदेशले सबैभन्दा बढी ३६.७ प्रतिशत आर्थिक योगदान दिने अनुमान गरिएको छ । बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशहरूको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा कम रहने प्रक्षेपण गरिएको छ ।
महँगीतर्फ फागुन मसान्तसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशतमा सीमित रहेको उल्लेख गरिएको छ । त्यसैगरी संघीय राजस्व ३.२ प्रतिशतले वृद्धि भएको र सरकारी खर्च १०.०४ प्रतिशतले बढेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
अर्थमन्त्री वाग्लेले विश्व भू–राजनीतिक अवस्था, आयात–निर्यातमा देखिएको दबाब र मूल्यवृद्धिको चुनौतीका बीच पनि नेपालको अर्थतन्त्र निरन्तर विस्तार भइरहेको बताएका छन् ।












प्रतिक्रिया दिनुहोस्