वासिङ्टन । डोनाल्ड ट्रम्प ले इरानसँग हुन सक्ने युद्धविराम तथा आणविक सम्झौतामा हतार नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन् ।
यसअघि सम्झौता अन्तिम चरणमा पुगेको बताएका ट्रम्पले अहिले भने अझै धेरै विषयमा सहमति हुन बाँकी रहेको संकेत गरेका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत औपचारिक सम्झौता नभएसम्म हर्मुज जलडमरूमध्यमा इरानी जहाजमाथिको अमेरिकी नाकाबन्दी यथावत् रहने बताएका छन् ।
उनले दुवै पक्षले समय लिएर सावधानीपूर्वक सम्झौता टुंग्याउनुपर्ने उल्लेख गर्दै इरानसँग सहमति भए त्यो राम्रो र उचित हुने बताएका छन् ।
शनिबार मात्रै ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने समझदारीपत्र लगभग अन्तिम अवस्थामा पुगेको दाबी गरेका थिए । सम्भावित सहमतिअनुसार विश्वकै प्रमुख तेल मार्ग मानिने हर्मुज जलडमरूमध्य पुनः पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।
तर अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले सम्झौता अझै अन्तिम निष्कर्षमा नपुगेको बताएका छन् । उनका अनुसार मुख्य प्रश्न इरानले युरेनियम हटाउने वा नहटाउनेभन्दा पनि कसरी हटाउने भन्ने विषयमा केन्द्रित छ ।
इरानले सैद्धान्तिक रूपमा हर्मुज मार्ग खोल्न र उच्च तहमा संवर्द्धित युरेनियम हटाउन सहमति जनाए पनि कार्यान्वयनको विस्तृत मोडालिटी अझै तय हुन बाँकी रहेको बताइएको छ ।
यसैबीच इरानले विदेशमा रोकिएका सम्पत्ति फुकुवा र प्रतिबन्ध खुकुलो बनाउने विषय प्रारम्भिक चरणमै सुनिश्चित हुनुपर्ने अडान राखेको छ ।
सम्भावित सम्झौताले अमेरिकाभित्रै आलोचना पनि खेपिरहेको छ । अमेरिकी सिनेटर क्रिस भान होलेन ले प्रस्तावित ढाँचालाई युद्धअघिकै अवस्थाको पुनरावृत्ति भएको टिप्पणी गरेका छन् ।
यता इसराइल मा पनि सम्भावित सम्झौताप्रति चिन्ता बढेको छ । बेन्जामिन नेतन्याहू ले सुरक्षा मन्त्रिपरिषद्को बैठक बोलाएर इरान वार्ताबारे छलफल गर्ने तयारी गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्