काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । विभागले करिब २० अर्ब रुपैयाँ बिगो कायम गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
सरकारी वकिल कार्यालयका अनुसार प्रतिवेदन वैशाख दोस्रो सातामै प्राप्त भएको थियो र हाल अध्ययन अन्तिम चरणमा पुगेको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार आरोपितविरुद्ध बिमा, धितोपत्र तथा सेयर कारोबारसम्बन्धी कानुन उल्लंघन गरेको अभियोगमा २ देखि १० वर्षसम्म कैद, बिगो बराबर जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफतको मागसहित मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।
मुद्दा सिफारिस हुनेहरूमा शंकरलाल अग्रवाल, शाहिल अग्रवाल, शेखर गोल्छा, राजबहादुर शाह, उपासना पौडेल, रोहित गुप्ता, ऋषिराज मोर र सन्दीप चाचान लगायत रहेका छन् ।
विभागले सुलभ अग्रवाललाई चैत २१ गते र दीपक भट्टलाई चैत १९ गते पक्राउ गरेको थियो । शंकरलाल अग्रवाललाई पनि पक्राउ गरिएको भए पनि दुई दिनपछि हाजिरी जमानीमा रिहा गरिएको थियो । शेखर गोल्छा सर्वोच्च अदालतको आदेशपछि छुटिसकेका छन् भने अन्य केही आरोपित फरार रहेको जनाइएको छ ।
अनुसन्धानअनुसार उक्त समूहले Himalayan Reinsurance Limited सहित पाँच कम्पनीबाट करिब ३ अर्ब ७३ करोड रुपैयाँ गैरकानुनी रूपमा सारेर प्रतिस्पर्धी कम्पनीको सेयर खरिद गरेको आरोप छ । विभागका अनुसार सूचीकृत कम्पनीको रकम अपचलन गरी धितोपत्र बजारमा लगानी गरिएको र त्यसमार्फत सम्पत्तिको स्रोत लुकाउने प्रयास भएको देखिएको छ ।
प्रारम्भिक अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको मिलेमतोमा ठूलो मात्रामा Nepal Reinsurance Company को सेयर खरिद गरिएको खुलेको छ । उक्त कारोबार धितोपत्र दलाल कम्पनी Bhirkuti Stock Broking Company मार्फत गरिएको बताइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा प्राधिकरण, नेप्से तथा सीडीएससीबाट संकलित विवरण विश्लेषण गरी प्रतिवेदन तयार पारेको जनाएको छ । यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि धितोपत्र बजारमा कृत्रिम मूल्यवृद्धि तथा झूटो कारोबारसम्बन्धी कसुरमा छुट्टै अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्