कांग्रेस सभापति गगन थापा ले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्ने भएका छन्।
काठमाडौंस्थित सानेपामा दिउँसो २ बजे हुने कार्यक्रममा संविधान संशोधनका विषयमा जेनजी अगुवाहरूको राय–सुझाव संकलन गरिने कांग्रेसले जनाएको छ। कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित समिति’ ले कार्यक्रम आयोजना गरेको हो।
कांग्रेसका अनुसार १८ जना जेनजी अगुवालाई औपचारिक निमन्त्रणा पठाइएको छ। कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा. खनाललगायतको सहभागिता रहने बताइएको छ।
सरकारले संविधान संशोधन बहसपत्र तयारीका लागि विभिन्न पक्षसँग छलफल गरिरहेका बेला कांग्रेसले भने छुट्टै तयारी अघि बढाएको छ। उपसभापति पुष्पा भुसाल को संयोजकत्वमा गठन गरिएको कार्यदलमार्फत सुझाव संकलन भइरहेको छ।
‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’ मा वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरू सदस्य छन्। समितिले यसअघि संविधानविदहरूसँग दुई चरणमा छलफल गरिसकेको छ भने आज जेनजी अगुवासँग राय संकलन गर्न लागेको हो।
यता प्रधानमन्त्री बालेन्द्र शाह का राजनीतिक सल्लाहकार असिम शाह को नेतृत्वमा भइरहेको संविधान संशोधन बहसपत्र तयारी प्रक्रियामा कांग्रेस सहभागी भएको छैन। शाह नेतृत्वको कार्यदलले पनि जेनजी अगुवासँग राय संकलन गर्न खोजे पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले बहिष्कार गरेका थिए।
प्रतिक्रिया दिनुहोस्