काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले करिब ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार मुद्दा अदालतमा दर्ता हुने प्रक्रियामा रहेको छ ।
मुद्दामा तत्कालीन अर्थमन्त्री कार्कीसँगै तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवद्वय सुरेश आचार्य र दुन्डुराज घिमिरे, पूर्वसचिव केवल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्याललाई प्रतिवादी बनाइएको छ ।
यसअघि पनि अख्तियारले पोखरा विमानस्थल निर्माणसँग सम्बन्धित विभिन्न अनियमितताबारे अनुसन्धान गर्दै चरणबद्ध रूपमा मुद्दा दायर गर्दै आएको थियो । गत मंसिर २१ गते पाँच जना पूर्वमन्त्रीलाई विपक्षी बनाएर पहिलो मुद्दा दायर गरिएको थियो भने चैत ८ गते दोस्रो मुद्दा दर्ता गरिएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रिया, लागत निर्धारण र भुक्तानीमा अनियमितता भएको आरोपमा अख्तियारले विस्तृत अनुसन्धानपछि तेस्रो चरणको मुद्दा दायर गरेको जनाएको छ










प्रतिक्रिया दिनुहोस्