images
images

गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण – ‘आरोप र सत्य एउटै होइनन्, अनुसन्धानमा सहयोग गर्न तयार छु’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर आएका वित्तीय पारदर्शिता र सेयर लगानीसम्बन्धी आरोपबारे स्पष्टीकरण दिँदै कुनै पनि अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्। पछिल्ला दिनमा २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको तथा विवादित व्यक्तिसँग साझेदारी गरेको भन्ने आरोपप्रति उनले खण्डन गरेका हुन्।

गुरुङले आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढी लगानी स्पष्ट रूपमा उल्लेख गरिएको दाबी गर्दै उक्त सेयर लगानी सोही कुल रकमभित्र पर्ने बताए। यो विषय लुकाउने नभई वर्गीकरणसँग सम्बन्धित मात्र भएको उनको भनाइ छ। मन्त्री हुनुअघि नै सेयरमा लगानी गरेको र सो रकम बैंकबाट ऋण लिएर जुटाइएको उल्लेख गर्दै उनले सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको जिकिर गरेका छन्।

साझेदारीको आरोपबारे उनले एउटै कम्पनीमा धेरै सेयरहोल्डर रहने भएकाले सेयर किन्नु भनेको व्यक्तिगत साझेदारी नभएको बताए। ‘स्वार्थको द्वन्द्व’ सम्बन्धी प्रश्नमा उनले छानबिन गर्ने निकाय अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग भएको र प्रक्रिया अघि बढिरहेको जानकारी दिए।

यसैबीच नेपाली कांग्रेस ले गुरुङमाथि अनुसन्धान गर्न माग गरिरहेको सन्दर्भमा उनले आफू अनुसन्धानमा सघाउन तयार रहेको दोहोर्‍याए। “आरोप र सत्य एउटै कुरा होइनन्, निर्णय प्रमाणका आधारमा हुनुपर्छ,” उनले भने।

उनले पार्टीको निर्णय मान्ने प्रतिबद्धता जनाउँदै तथ्य र प्रमाणका आधारमा सत्य उजागर हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्