काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन सेयर बजार उत्साहजनक देखिएको छ । नेप्से परिसूचक बुधबार ३३.२७ अंकले बढ्दै २८६६ बिन्दुमा पुगेको छ ।
कारोबारका क्रममा दिउँसो १:०७ बजे परिसूचक २८७९ बिन्दुसम्म उक्लिए पनि अन्त्यतिर केही सुधारसहित घटेर बन्द भएको हो । बजारमा कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा आज १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।
कुल २२१ कम्पनीको शेयर मूल्य बढ्दा ४५ कम्पनीको घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन् । सबै उपसमूहहरूमा हरियाली देखिएको छ, जसमा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.१६ प्रतिशतले बढेको छ ।
त्यस्तै बैंकिङ १.३०, विकास बैंक १.५३, फाइनान्स १.२१, हाइड्रोपावर २.१४, लगानी ०.८९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.३९, अन्य ०.१० र व्यापार समूह २.३३ प्रतिशतले बढेका छन् ।
यस दिन ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर र सिन्धु विकास बैंकका शेयर १० प्रतिशतले बढेका छन् । त्यस्तै सोलु हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र ओरियन्टल होटलको मूल्य पनि उल्लेख्य बढेको छ ।
यता, रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य सबैभन्दा धेरै ५.६१ प्रतिशतले घटेको छ भने उपकार लघुवित्त पनि ४.४४ प्रतिशतले घटेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर अग्रस्थानमा रहेका छन् ।













प्रतिक्रिया दिनुहोस्