काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ताअघि संसदीय दलको बैठक बोलाएको छ।
रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ। संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता हुने दिनअघि रणनीति तय गर्न बैठक बोलाइएको हो।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाएको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन गर्ने मिति तोकेका थिए।
संघीय संसद् अन्तर्गत कुल १६ वटा संसदीय समिति रहेका छन्। तीमध्ये प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा र दुई वटा संयुक्त समिति रहेका छन्।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन भने यसअघि नै सम्पन्न भइसकेको छ। अब प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समितिका सभापतिहरूको निर्वाचन हुन बाँकी रहेको छ।













प्रतिक्रिया दिनुहोस्