images
images

अमेरिकाद्वारा इरानी बन्दरगाहमा नाकाबन्दी घोषणा, चीनसमेत प्रभावित हुने संकेत

काठमाडौँ । अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी लागू गर्ने घोषणा गरेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले सोमबार बिहानदेखि उक्त नाकाबन्दी कार्यान्वयनमा ल्याइने जानकारी दिएको हो । यस कदमले इरानसँगै चीनसमेत प्रभावित हुन सक्ने संकेत गरिएको छ ।

सेन्टकमका अनुसार इरानी बन्दरगाह तथा तटीय क्षेत्र प्रयोग गर्ने सबै देशका जहाजहरूलाई लक्षित गर्दै नाकाबन्दी निष्पक्ष रूपमा लागू गरिनेछ । इरानका बन्दरगाहमा प्रवेश गर्ने वा त्यहाँबाट बाहिरिने समुद्री यातायातलाई नियन्त्रणमा लिने तयारी गरिएको जनाइएको छ ।

अरबी खाडी र ओमान आसपासका इरानी तटीय क्षेत्र प्रयोग गर्ने जहाजहरूमा पनि यो व्यवस्था लागू हुने बताइएको छ । यद्यपि, हर्मुजको जलडमरू हुँदै अन्य गैर–इरानी बन्दरगाहतर्फ जाने जहाजहरूको आवागमनमा भने असर नपर्ने सेन्टकमले स्पष्ट पारेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरू हुँदै आवतजावत गर्ने जहाजहरू रोक्ने विषयमा संकेत दिएका थिए । पछिल्लो घोषणासँगै अमेरिकाले इरान र चीनप्रति आफ्नो रणनीति थप कडा बनाएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्