images
images

सेयर बजारमा उत्साह कायमै, कारोबार ९ अर्ब नाघ्यो

काठमाडौं । बिहीबार पनि सेयर बजारमा सकारात्मक रुझान कायम रह्यो । अघिल्लो दिन बढेको नेप्से परिसूचकले यस दिन पनि निरन्तरता दिँदै उल्लेखनीय वृद्धि गरेको हो ।

यस दिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ४.६४ अंकले बढ्दा फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले वृद्धि भएको छ ।

कारोबार रकममा पनि वृद्धि देखिएको छ । बुधबार ८ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३८ कम्पनीका १ लाख ८ हजार ८६९ पटकका कारोबारमार्फत ९ अर्ब ९१ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यस अवधिमा २ करोड ७९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

यस दिन ८ कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन् । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा उच्च वृद्धि देखिएको हो ।

त्यस्तै, हिम स्टार उर्जा कम्पनीको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिमालयन रि इन्स्योरेन्सको सेयरमूल्य करिब साढे ७ प्रतिशतले वृद्धि भएको छ । यता, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ६.७४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहँदा सो कम्पनीको ४३ करोड ४७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । रिडी पावर कम्पनीको ४१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्सको करिब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबै १३ उपसमूहको परिसूचकमा वृद्धि देखिएको छ । अन्य उपसमूह सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । बैंकिङ, वित्त, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीले सुधार आएको छ ।

प्रतिक्रिया दिनुहोस्