images
images

अर्थतन्त्रमा सुधारका संकेत, कर्जा प्रवाह ४ प्रतिशतले वृद्धि

काठमाडौं । लामो समयको सुस्ततापछि नेपालको अर्थतन्त्र क्रमिक रूपमा सुधारको दिशातर्फ अघि बढ्न थालेको संकेत देखिएको छ । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक उत्पादन र माग अझै कमजोर रहेकाबीच बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह विस्तार गर्दै आर्थिक गतिविधि चलायमान बनाउन प्रयास गरिरहेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ५८ खर्ब १३ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा रहेको ५५ खर्ब ९२ अर्ब रुपैयाँको तुलनामा यो करिब ४ प्रतिशतले वृद्धि हो ।

यस अवधिमा खानीजन्य उद्योग क्षेत्रमा सबैभन्दा उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो वर्ष ११ अर्ब ७५ करोड रुपैयाँ रहेको कर्जा ११.७ प्रतिशतले बढेर १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । पूर्वाधार निर्माणका लागि आवश्यक कच्चा पदार्थको माग बढेसँगै यस क्षेत्रमा बैंकहरूको लगानी बढेको देखिन्छ ।

उपभोग्य कर्जातर्फ पनि उल्लेखनीय विस्तार भएको छ । व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि प्रवाह हुने कर्जा १०.५ प्रतिशतले बढेर १२ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । निर्माण क्षेत्रमा ८.८ प्रतिशतले वृद्धि भई कर्जा २ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

यस्तै, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ७.८ प्रतिशतले कर्जा विस्तार भई ५ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । धातुका सामान, मेसिनरी तथा इलेक्ट्रोनिक औजार क्षेत्रमा ५.३ प्रतिशतले वृद्धि भई ७६ अर्ब ९९ करोड रुपैयाँ लगानी पुगेको छ ।

उत्पादनमूलक उद्योग क्षेत्रमा करिब ३ प्रतिशतले वृद्धि भई ९ खर्ब ३३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ भने पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित सेवा उद्योगमा १.८ प्रतिशतले वृद्धि भई ४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

थोक तथा खुद्रा व्यापार क्षेत्रमा भने कर्जा प्रवाह ०.८ प्रतिशतले मात्र बढेर १० खर्ब ४१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यातायात उपकरण उत्पादन तथा जडान क्षेत्रमा १.२ प्रतिशतले वृद्धि भई ५२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

यता कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा कर्जा प्रवाह २.१ प्रतिशतले घटेर ४ खर्ब ९ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ । वित्त, बीमा तथा घरजग्गा क्षेत्रमा पनि २.७ प्रतिशतले गिरावट आई कर्जा ४ खर्ब २९ अर्ब रुपैयाँमा झरेको छ । स्थानीय सरकारतर्फ प्रवाह हुने कर्जा पनि ०.४ प्रतिशतले घटेर १ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ ।

यीबाहेक अन्य विविध क्षेत्रमा ३ खर्ब २० अर्ब ४६ करोड रुपैयाँ लगानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्