images
images

मध्यपूर्व युद्धको असर, नेपालमा दुईदिने बिदा लागू

काठमाडौं । पेट्रोलियम आपूर्तिमा देखिएको असहजताका कारण सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबारसँगै आइतबार पनि बिदा दिने व्यवस्था गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्ति प्रभावित भएपछि खपत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको हो। दुई दिन बिदाले पेट्रोलियम पदार्थको प्रयोग घट्ने सरकारको अपेक्षा छ।

यद्यपि, कार्यसम्पादन समय नघट्ने गरी सोमबारदेखि शुक्रबारसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन हुने निर्णय गरिएको छ। उक्त व्यवस्था सोमबारदेखि लागू हुने गरी राजपत्रमा प्रकाशित भइसकेको छ।

सरकारले इन्धन आपूर्तिमा थप समस्या आउन सक्ने अनुमान गर्दै खपत नियन्त्रण गर्ने नीति लिएको जनाएको छ।

त्यस्तै, मन्त्रिपरिषद्ले आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। साथै, डिजिटल नेपाल ट्रान्सफर्मेसन परियोजनाका लागि ९ करोड डलर र दिगो तथा समावेशी विकास परियोजनाका लागि ९ करोड ५० लाख डलर ऋण लिने निर्णय पनि गरिएको छ।

यसैबीच, डा. नारायण कँडेल लाई महान्यायाधिवक्तामा नियुक्त गरिएको छ। रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई नियुक्त गरेका हुन्। उनले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्