काठमाडौं । नेकपा (एमाले) का युवा सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी संसदीय दलको बैठकमा नेम्वाङले पार्टीको वर्तमान जनभावना र आवश्यकतालाई ध्यानमा राख्दै दलको नेताको जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार उनले पार्टीको विधि–पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै नेतृत्वका लागि आफ्नो इच्छा व्यक्त गरेका हुन् ।
बैठकमा बोल्दै नेम्वाङले भने, “पार्टीको विधि–पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु । देशमा उत्पन्न वर्तमान परिस्थितिलाई हामीले नजरअन्दाज गर्न हुँदैन । सदन र सदन बाहिरको अवस्थाबारे हामी सबै सचेत छौं ।”
उनले आफ्नो दाबी अग्रज नेताहरूले नेतृत्व गर्न नसक्ने भन्ने अर्थमा नभएको स्पष्ट पारे । युवाको ऊर्जा र अग्रजहरूको अनुभव तथा आशीर्वादलाई साथमा लिएर अघि बढ्ने आवश्यकता रहेको उनले बताएका छन् ।
बादलको अध्यक्षतामा जारी बैठकमा पार्टीका पदाधिकारीहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेल लगायतका नेता सहभागी छन् ।












प्रतिक्रिया दिनुहोस्