काठमाडौँ । नेकपा (एमाले)ले प्रतिनिधिसभा समानुपातिकतर्फ १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेकाले उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।
पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णय सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए। उनका अनुसार आदिवासी जनजाति क्लस्टरतर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरुष) र कुलभक्त शाक्य (पुरुष) को नाम सिफारिस गरिएको छ।
खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टर) रहेका छन्। त्यस्तै थारु क्लस्टरतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र निता घतानीको नाम सिफारिस गरिएको छ।
मधेसी क्लस्टरतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल रहेका छन् भने मुस्लिमतर्फ साजिदा सिद्धिकीको नाम सिफारिस गरिएको भट्टले जानकारी दिए। बैठकमा समानुपातिक उम्मेदवार सिफारिस गर्ने प्रस्तावका साथै अध्यक्ष ओलीको पितृ शोकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्तावसमेत पारित गरिएको बताइएको छ।










प्रतिक्रिया दिनुहोस्