काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै केपी शर्मा ओली ले दृश्य सन्देशमार्फत मतदातालाई “देश पहिले” भन्ने भावनासहित मतदान गर्न अपिल गरेका छन्। उनले वर्तमान राजनीतिक अवस्थालाई देश बनाउने र भत्काउने शक्तिबीचको छनोटका रूपमा प्रस्तुत गर्दै अब स्पष्ट निर्णय गर्ने समय आएको बताएका छन्।
सम्बोधनका क्रममा ओलीले देशको भविष्य जनताको हातमा रहेको उल्लेख गर्दै राष्ट्र जोगाउने कि अस्थिरतातर्फ धकेल्ने भन्ने प्रश्नको उत्तर जनताले दिनुपर्ने धारणा राखेका छन्। आफू निर्माण, स्थायित्व र राष्ट्रिय स्वाभिमानको पक्षमा रहेको दाबी गर्दै उनले राष्ट्रियता र अखण्डताको विषयमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“देश पहिले भन्नुको अर्थ संविधान, नियम, भूमि र जनतालाई प्राथमिकता दिनु हो,” भन्दै उनले संविधान सुरक्षित रहे मात्र नागरिकका बोल्ने, बाँच्ने, न्याय पाउने र मतदान गर्ने अधिकार सुरक्षित रहने तर्क गरेका छन्। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर भावी पुस्ताको उज्ज्वल भविष्यका लागि सोच्न आग्रह गरेका छन्।
ओलीले सिंहदरबार, संसद, अदालत तथा सुरक्षा निकायजस्ता राज्यका अंगहरू जनताको कर र विश्वासबाट बनेको स्मरण गराउँदै ती संरचनाहरूको सुरक्षा अनिवार्य रहेको बताएका छन्। यस्ता संस्थाहरू कमजोर हुँदा राष्ट्रको आधार नै कमजोर हुने उनको भनाइ छ।
सम्बोधनको अन्त्यमा उनले यो निर्वाचन केवल दलहरूबीचको प्रतिस्पर्धा नभई देशको दिशा निर्धारण गर्ने अवसर भएको उल्लेख गर्दै सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका छन्। उनले जनताको मनले पनि “देश पहिले” भनिरहेको विश्वास व्यक्त गरेका छन्।















प्रतिक्रिया दिनुहोस्