images
images

काठमाडौं महानगर नेतृत्व चुनौतीपूर्ण, अन्तर्राष्ट्रिय दबाबको सामना गरेको बालेनकाे दाबी

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह ले महानगरभित्रै अन्तर्राष्ट्रिय स्तरको चलखेल हुने गरेको दाबी गरेका छन्।

झापा–५ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले महानगरको नेतृत्व सम्हाल्नु प्रधानमन्त्रीको जिम्मेवारीभन्दा कम चुनौतीपूर्ण नभएको बताएका हुन्। “महानगरमा कति तहसम्मको चलखेल हुन्थ्यो भन्ने कुरा तपाईंहरूले कल्पना गर्न सक्नुहुन्न,” उनले भने।

फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा समेत बाह्य प्रभाव देखिएको उनको आरोप थियो। मतदाताले राष्ट्रिय नेतृत्वमा पुगेपछि अन्तर्राष्ट्रिय दबाबसँग कसरी जुध्ने भन्ने प्रश्न उठाएपछि उनले स्थानीय तहमा काम गर्दा पनि यस्ता चुनौती भोग्नुपरेको अनुभव सुनाए।

सुकुम्बासी बस्ती व्यवस्थापनबारे बोल्दै उनले बाढी जोखिमका कारण केही संरचना हटाउनुपरेको स्पष्ट पारे। डोजर चलाउने निर्णय अव्यवस्थित बसोबास हटाउनेभन्दा पनि जोखिम न्यूनीकरणका लागि भएको उनको जिकिर थियो।

झापा–५ बाट उम्मेदवारी दिएका शाहले त्यहाँका सुकुम्बासीलाई धनीपूर्जा दिलाउने प्रतिबद्धता व्यक्त गरे। स्थानीय तहको अनुभवले राष्ट्रिय नेतृत्वका लागि आफूलाई तयार बनाएको उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्