काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले नेपाललाई आगामी पाँच वर्षभित्र दक्षिण एशियाकै प्रतिस्पर्धी ‘डिजिटल हब’का रूपमा विकास गर्ने लक्ष्यसहित विस्तृत आईटी रोडम्याप सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले सूचना प्रविधि क्षेत्रमा नीतिगत सुधार र अनुकूल वातावरण सिर्जना गर्न सके छोटो समयमै ठूलो आर्थिक उपलब्धि हासिल गर्न सकिने बताए। केही समयअघि कीर्तिपुरमा आयोजित कार्यक्रममा ‘ल्यापटपबाटै मासिक ३–४ लाख रुपैयाँ आम्दानी सम्भव छ’ भन्ने उनको भनाइ सामाजिक सञ्जालमा चर्चित बनेको थियो। उक्त अभिव्यक्ति हावादारी नभई योजनाबद्ध सोचको अंश भएको उनको दाबी छ।
उनले अघिल्लो कार्यकालमा अध्यादेशमार्फत गरिएका सीमित सुधारले पनि सकारात्मक संकेत दिएको उल्लेख गर्दै अब दीर्घकालीन, स्पष्ट र स्थिर नीति आवश्यक रहेको बताए। सन् २०२४ देखि २०३४ सम्मलाई ‘आईटी दशक’का रूपमा अगाडि बढाउने प्रस्तावसहित उनले पाँच वर्षभित्र करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्ने लक्ष्य प्रस्तुत गरेका छन्।
योजनाअनुसार सूचना प्रविधि क्षेत्रमा २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने तथा ३–५ कम्पनीलाई धितोपत्र बजारमा सूचीकरण गराउने लक्ष्य राखिएको छ।
यस उद्देश्यका लागि स्थिर कर नीति, दक्ष जनशक्ति उत्पादन गर्न ‘ट्यालेन्ट हब’ स्थापना, र सार्वजनिक–निजी साझेदारीलाई सुदृढ बनाउने रणनीति अघि सारिएको छ। नेपाल अब केवल फ्रिल्यान्सिङ वा बीपीओ सेवामा सीमित नभई आफ्नै डिजिटल उत्पादन विकास र निर्याततर्फ केन्द्रित हुनुपर्ने उनको जोड छ।










प्रतिक्रिया दिनुहोस्