अछाम। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट अछाम क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा उम्मेदवार बनेका डा. भीम रावलको चुनावी अभियान नै विवादित पात्रहरूको घेरामा परेको तथ्य सार्वजनिक भएसँगै उनको उम्मेदवारी र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न उठेको छ ।
डा. रावलले आफ्नो चुनावी अभियानमा ‘सुशासन’ र ‘नैतिक राजनीति’लाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। तर उनको अभियान व्यवस्थापनमा संलग्न केही नेताहरूमाथि भ्रष्टाचार, आर्थिक अनियमितता तथा ठगीसम्बन्धी आरोप सार्वजनिक भइसकेकाले यस विषयमा सार्वजनिक चासो बढेको देखिन्छ।
रावलको चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गरिरहेका सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य झपट साउँद यसअघि ठगीसम्बन्धी मुद्दामा विवादमा परेका व्यक्ति हुन्। सार्वजनिक विवरणअनुसार, साउँदमाथि आर्थिक लेनदेनसम्बन्धी विवाद अदालतसम्म पुगेको छ।
बझाङ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका–४ मा बसोबास गर्दै आएका धनबहादुर बोहोराले साउँदमाथि आफूलाई ठगी गरिएको आरोप लगाउँदै न्यायिक प्रक्रिया अघि बढाएका थिए। “सुदूरपश्चिम प्रदेश सरकारमा झपट साउँद सामाजिक विकास मन्त्री रहेका बेला योजना र ठेक्काको व्यवस्था गरिदिने आश्वासन दिँदै मबाट ठूलो रकम लिइयो,” धनबहादुर बोहोराले भने, “न्याय नपाएपछि म अदालत जान बाध्य भएँ, र यस विषयमा मुद्दा दर्ता गरिसकेको छु।” उनीहरूबीचको आर्थिक लेनदेनको विवाद चर्किँदै अदालतसम्म पुगेको छ ।
यस्ता आरोपहरू सार्वजनिक भइरहेका बेला डा. भीम रावलको चुनावी अभियानमा साउँदको सक्रिय सहभागिताले राजनीतिक वृत्तमा बहस सुरु भएको छ। आलोचकहरूले नैतिक राजनीति र सुशासनको कुरा गर्ने उम्मेदवारले आफ्नो अभियानमा विवादित व्यक्तिहरूको भूमिकाबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।
यस विषयमा डा. रावलले अहिलेसम्म औपचारिक प्रतिक्रिया नदिएका कारण मतदाता तथा राजनीतिक विश्लेषकहरूबीच विभिन्न अड्कलबाजी भइरहेको छ। केहीले यसलाई उम्मेदवारको व्यक्तिगत जिम्मेवारीसँग जोडेर हेर्न नहुने तर्क गरेका छन् भने केहीले अभियान व्यवस्थापनमा रहेका व्यक्तिहरूको पृष्ठभूमिले राजनीतिक सन्देशमा असर पार्न सक्ने बताएका छन्।
योजना हालिदिने नाममा स्थानीय सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको गम्भीर आरोप लागेका पंकज शाहलाई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गराइएको विषय पनि विवादित बनेको थियो । यसअघि नेकपा एमाले अछामले अनुशासनहीनता र ठगीसम्बन्धी गुनासोका आधारमा कार्वाही गरेका शाह सोमबार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा। भीम रावलको चुनावी सभामै एमाले परित्याग गरी पार्टी प्रवेश गरेका थिए । यसमा भने रावलले सामाजिक सञ्जाल फेसवुक मार्फत प्रतिक्रिया दिएकाका छन् ।
“बान्नीगढी जयगढ गाउँपालिका–६, दर्ना निवासी तथा एमाले अछाम जिल्ला कमिटी सचिवालय सदस्य पंकज शाहले एमाले परित्याग गरी नेकपाको समर्थन गरेको विषयलाई लिएर केही एमाले भनिनेहरूले ‘ठगी’ र ‘रकम अपचलन’ जस्ता आरोप फैलाएको देखियो,” डा। भीम रावलले फेसबुकमार्फत लेखेका छन्। “मलाई पंकज शाह एमाले जिल्ला कमिटी सचिवालय सदस्य र अछामका एकजना एमाले केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीका स्वकीय सचिव भएको जानकारी मात्र थियो। उहाँमाथि एमालेले कुनै कारबाही गरेको कुरा कहीँ कतै सार्वजनिक भएको छैन। यस्ता हल्ला एमाले पक्षको हतासाको परिणाम मात्र हुन्।”
यस घटनाक्रमले अछामको चुनावी माहोलमा थप बहस र चासो पैदा गरेको छ। आगामी दिनमा उम्मेदवार र सम्बन्धित पक्षबाट आउने स्पष्टिकरणले मतदातालाई निर्णय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया दिनुहोस्