निराजन खड्का, अछाम । ‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने उखान अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ठ्याक्कै लागू भएको छ। १२ वर्षअघि चुनावी प्रतिस्पर्धामा आमनेसामने देखिएका उम्मेदवारहरू फेरि उही मैदानमा उत्रिएका छन्, तर यसपटक दृश्य भने बिल्कुलै फरक छ।
समयसँगै राजनीति बदलिन्छ भन्ने भनाइलाई पुष्टि गर्दै, २०७० सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका डा. भीम रावल यसपटक नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको) बाट उम्मेदवार बनेका छन्। उता, त्यही निर्वाचनमा नेकपा माओवादीबाट उम्मेदवार बनेका दीपक साउद तरगं अहिले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिँदै मैदानमा छन्।
अर्थात्, अछाम–१ को चुनावी प्रतिस्पर्धा यसपटक विरासत जोगाउने र विरासत भत्काउने राजनीतिक द्वन्द्वमा परिणत भएको छ। अनुहार उही भए पनि झण्डा फेरिएका छन्, विचार र रणनीतिमा पनि फेरबदल आएको देखिन्छ। यसले पनि अछामको निवार्चनमा रोेचकता थपेको छ । १२ वर्षअघि मतदाताले दिएको निर्णय यसपटक दोहोरिन्छ कि नयाँ राजनीतिक सन्देश दिनेछ रु अछामको चुनावी परिणामले त्यसको उत्तर दिनेछ।
२०७० सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका डा. भीम रावल यसपटक करिब ५१ वर्ष लामो एमालेसँगको राजनीतिक यात्रा टुंग्याएर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन्। समर्ग सुदुपश्चिमको एमालेको राजनीतिक आधार निर्माण गर्ने नेताकै रूपमा चिनिएका रावल आज आफ्नै पुरानो दलविरुद्ध मैदान छन् । आफ्नै पुरानो दलसँग मैदानमा उत्रिँदा निर्वाचन केवल चुनावी प्रतिस्पर्धा नभई विरासत जोगाउने
उता, २०७० मा नेकपा माओवादीको तर्फबाट उम्मेदवार बनेका दीपकबहादुर साउद यसपटक नेकपा एमालेको उम्मेदवारका रूपमा मैदानमा छन्। यसरी १२ वर्षपछि अछाम–१ मा उही अनुहार देखिए पनि झण्डा र राजनीतिक ध्रुवीकरण भने उल्टिएको छ। त्यतिबेला रावलसँग सूर्य र साउदसँग हँसिया–हथौडा थियो, अहिले रावल तारा बोकेर चुनाव लडिरहेका छन् भने साउद सूर्य चिन्हसहित एमालेको उम्मेदवार बनेका छन्।
यस्तै, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी पनि अवसरको खोजीमा छन्। मुख्य प्रतिस्पर्धी दलहरूबीचको आपसी किचलोले यसपटक चुनावी परिणाम उल्टिन सक्ने आकलन गरिँदा कांग्रेस र रास्वपा दुवै जित निकाल्ने दाउमा देखिएका छन्। नेपाली कांग्रेसले भरतकुमार स्वाँरलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमप्रकाश रावल मैदानमा उत्रिएका छन्। देशमा परिवर्तनको अपेक्षा बढ्दै गएको र मतदातामाझ विकल्प खोज्ने मनोविज्ञान बलियो बन्दै गएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अछाम–१ मा आफ्नो जित सुनिश्चित गर्ने रणनीति अपनाएको देखिन्छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्र शाह, नेकपा माओवादीबाट लोकेन्द्रबहादुर शाही तथा भीमबहादुर कुँवर स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी दौडमा छन्।
२०७९ को आमनिर्वाचनमा भीम रावल उम्मेदवार थिएनन्। अछामबाट एकल सिफारिस भए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रबाट उनको टिकट काटिदिएका थिए। त्यसपछि रावलमाथि आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय भएको आरोपसमेत लागेको थियो। उक्त निर्वाचनमा नेकपा एमालेबाट विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए। प्रत्यक्षतर्फ कुँवरले १९ हजार ५३४ मत प्राप्त गरी एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका थिए। बोहराले १५ हजार ४५ मत ल्याएका थिए भने तेस्रो स्थान स्वतन्त्र उम्मेदवार राजन कुँवरले हासिल गरेका थिए।
अछाम निर्वाचन क्षेत्र नम्बर १ भीम रावलको राजनीतिक गढका रूपमा चिनिन्छ। उनले यही क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका छन्। त्यसैले यसपटक पनि भीम रावलमाथि आफ्नो राजनीतिक विरासत जोगाउनुपर्ने दबाब छ। राष्ट्रिय नेताको छवि बनाइसकेका रावलको आफ्नै निर्वाचन क्षेत्रमा कति प्रभाव कायम छ भन्ने कुरा यही निर्वाचनले स्पष्ट गर्नेछ। समग्र सुदूरपश्चिममै प्रभाव पार्न सक्ने नेताका रूपमा हेरिँदै आएका रावलले यदि आफ्नै जित सुनिश्चित गर्न नसकेमा त्यसले उनको राजनीतिक छविमै प्रश्न उठ्न सक्छ। त्यसैले यो निर्वाचन उनका लागि विरासत जोगाउने ठूलो चुनौतीका रूपमा रहेको छ।
यस्तै, उनले आफैंले निर्माण र सुदृढ बनाएको नेकपा एमालेको संगठनसँगै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ, जुन उनका लागि ठूलो चुनौती बन्नेछ। ‘सूर्य’ चिन्हसँगै भीम रावललाई चिनेका मतदाताले यसपटक उनको नयाँ चुनाव चिन्ह ‘तारा’लाई कति हदसम्म पहिचान र स्वीकार गर्न सक्छन् भन्ने प्रश्न पनि उठेको छ। यो पक्ष पनि उनका लागि अर्को महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ।
यस्तै, अन्य दलका उम्मेदवारहरूका लागि भने भीम रावलको राजनीतिक विरासत भत्काउनु नै मुख्य चुनौती बनेको छ। राष्ट्रिय नेताको छवि र लामो समयदेखिको लोकप्रियताले उनीहरूलाई कडा प्रतिस्पर्धामा धकेलेको देखिन्छ। नेपाली कांग्रेसका तर्फबाट भरतकुमार स्वाँर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ओमप्रकाश रावल पनि रावललाई कडा चुनौती दिने तयारीमा छन्।
२०७९ को निर्वाचन परिणामलाई हेर्दा अछाममा कांग्रेसको आधार अपेक्षाकृत बलियो देखिन्छ। प्रतिनिधिसभा निर्वाचनमा लामो समयदेखि सफलता हासिल गर्न नसकेको कांग्रेसले यसपटक स्थानीय समुदायमा राम्रो पहिचान र स्वीकार्यता भएका भरतकुमार स्वाँरलाई उम्मेदवार बनाएको छ। संगठनात्मक अवस्थालाई मूल्याङ्कन गर्दा कांग्रेस अछाम क्षेत्र नम्बर १ मा बलियो प्रतिस्पर्धीका रूपमा उभिएको देखिन्छ।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा रहेका थिए। त्यस्तै, स्थानीय तह निर्वाचनमा अछाम–१ अन्तर्गतका पालिकामध्ये कांग्रेसले चार पालिका प्रमुख जित्दा तत्कालीन माओवादी केन्द्रले एक पालिकामा विजय हासिल गरेको थियो। ४२ वडामध्ये कांग्रेसले १९, एमालेले १३, माओवादीले ५, एकीकृत समाजवादीले २ र स्वतन्त्र उम्मेदवारले ३ वडा जितेका थिए। यी तथ्यांकहरूले अछाममा कांग्रेसको संगठनात्मक अवस्था बलियो रहेको स्पष्ट संकेत देखिन्छ ।
यता नेकपा एमालेले पनि अछाम–१ मा आफ्नो बलियो प्रतिस्पर्धी खडा गरेको छ। विशेषतः भीम रावलसँग आक्रोशित देखिएको एमाले उनलाई जसरी पनि पराजित गर्ने रणनीतिमा जुटेको छ। पार्टीले पटक–पटक अवसर दिँदा पनि रावलले अपेक्षित विकास गर्न नसकेको, पार्टीको छवि धुमिल बनाएको र सामूहिक हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको रावल माथि एमालेको आरोप छ।
यसै सन्दर्भमा सामाजिक सञ्जालमा पनि एमाले र अन्य नेपाली कम्युनिस्ट पार्टिका कार्यकर्ताबीच तीव्र वाक्–युद्ध चलेको देखिन्छ। यही कारणले भीम रावललाई हराउन एमालेले रणनीतिक रूपमा उम्मेदवार परिवर्तन गर्दै युवा नेता दीपक साउदलाई अघि सारेको छ।
पूर्व माओवादी पृष्ठभूमिका साउदलाई एमालेले रावललाई पराजित गर्न सक्ने सम्भावनायुक्त उम्मेदवारका रूपमा हेरेको छ। पुरानो माओवादी पंक्तिमा भीम रावलप्रति देखिएको लामो समयदेखिको असन्तुष्टि र विरोधलाई उपयोग गर्दै, अहिले ‘तारा’ चिन्हमा रहेका पूर्व माओवादी समूहबाट समेत समर्थन जुटाउन सकिने एमालेको रणनीति देखिन्छ।
१२ वर्षअघि चुनावी प्रतिस्पर्धामा आमनेसामने उत्रिएका यी उम्मेदवारहरू फेरि उही राजनीतिक मैदानमा आमनेसामने भएका छन्। यसपटक दीपक साउद १२ वर्ष पुरानो पराजयको बदला लिने दाउमा देखिन्छन्। एमाले पनि उनलाई युवा विकासप्रेमि नेताका रुपमा प्रस्तुत गरिरहेको छ ।
एमालेले दीपक साउदलाई अछाम–१ मा पुस्तान्तरण, विकास र स्थायित्वको प्रतिनिधि पात्रका रूपमा अघि सारेको छ। युवा पुस्तामाझ राम्रो पहुँच भएका, संगठन निर्माणमा सक्रिय र स्थानीय आवश्यकता नजिकबाट बुझेका नेताका रूपमा साउदलाई प्रस्तुत गर्दै एमालेले अछामको विकासलाई नयाँ गति दिन सक्ने क्षमता उनमै रहेको दाबी गरेको छ। विशेषतः पूर्व माओवादी पृष्ठभूमिबाट एमालेमा आएका साउदले विभिन्न राजनीतिक धारबीच सेतुको भूमिका खेल्न सक्ने, जसले विभाजित मतलाई एकताबद्ध गर्दै निर्णायक परिणाम ल्याउन सक्ने एमालेको विश्वास छ। यही आधारमा एमाले नेतृत्वले अछाम–१ मा यसपटक अनुभवी विरासतभन्दा युवा ऊर्जा र कार्यक्षमतामा मतदाताले भरोसा गर्ने अपेक्षा गरेको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावल पनि जितप्रति आत्मविश्वासी देखिन्छन्। अछाममा करिब सात हजारभन्दा बढी पार्टी सदस्य भइसकेको दाबी गर्दै, देशले परिवर्तन चाहेको वर्तमान राजनीतिक परिस्थितिमा अछामका मतदाताहरू पनि परम्परागत दलभन्दा फरक विकल्प खोजिरहेको रास्वपाको भनाइ छ।
विशेषत युवापुस्ताको आकर्षण, वैदेशिक रोजगारीबाट फर्किएका मतदाता र लामो समयदेखि राजनीति प्रतिको वितृष्णामा रहेका नागरिकहरू रास्वपातर्फ आकर्षित भइरहेको दाबी पार्टीको छ। भ्रष्टाचारविरुद्धको कठोर अडान, पारदर्शी शासन र परिणाममुखी विकासलाई मुख्य एजेन्डा बनाएको रास्वपाले अछाममा पनि नयाँ राजनीतिक धार स्थापित गर्न सक्ने विश्वास व्यक्त गरेको छ।
यस्तो अवस्थामा परिवर्तनका लागि आफूहरू नै वास्तविक विकल्प भएको दाबी गर्दै रास्वपाले विकास र देशलाई निकास दिन सक्ने राजनीतिक शक्ति आफ्नै पार्टी भएको बताउँदै आएको छ। ठूला दलहरूको आन्तरिक विवाद र परम्परागत राजनीतिप्रति बढ्दो असन्तुष्टिलाई आफ्नो पक्षमा रूपान्तरण गर्न सकिए जित सम्भव हुने रास्वपाको आकलन छ। त्यसैले ओमप्रकाश रावल नेतृत्वको रास्वपा टोली पनि अछाम–१ मा निर्णायक मत बटुल्दै जित सुनिश्चित गर्ने दाउमा देखिएको छ।
अछाम–१ अन्तर्गत साँफेबगर नगरपालिका तथा मेल्लेख, चौरपाटी, बान्नीगढी जयगढ र रामारोशन गाउँपालिकाहरू पर्दछन्। यही भूगोलभित्र भीम रावलको राजनीतिक विरासत बलियो मानिँदै आएको छ। तर यसपटक अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को चुनाव केवल जित–हारको प्रतिस्पर्धा मात्र नभई विरासत जोगिने कि भत्किने भन्ने निर्णायक मैदान बनेको छ। अन्ततः यो विरासत कायम रहनेछ वा इतिहासमै सीमित हुनेछ भन्ने फैसला भने मतदाताले निर्वाचनमार्फत गर्नेछन्।










प्रतिक्रिया दिनुहोस्