काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहारस्वरूप प्रदान गरेको छ।
माघ ६ गते सिंहदरबारस्थित एक कार्यक्रममा भारतीय दूतावासले नेपाल सरकारलाई क्याबिन पिक–अप भ्यान हस्तान्तरण गरेको हो। हस्तान्तरणपछि ती गाडीहरू हाल सिंहदरबारस्थित गृह मन्त्रालय अगाडि राखिएका छन्।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहयोगअन्तर्गत भारत सरकारसँग सवारी साधनको माग गरेको थियो। सोही प्रस्तावअनुसार भारत सरकारले पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको हो।
यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी कुल ५३८ वटा गाडी उपलब्ध गराउने बताइएको छ। ती गाडीहरू नेपाल सरकारको नाममा प्राप्त भएकाले निर्वाचन सम्पन्न भएपछि सरकारले आवश्यकताअनुसार प्रयोग गर्न सक्नेछ।
भारत सरकारले यसअघिदेखि नै नेपालमा निर्वाचन सम्पन्न गर्न सवारी साधनसहित विभिन्न निर्वाचन सामग्री सहयोग गर्दै आइरहेको छ।














प्रतिक्रिया दिनुहोस्