images
images

७६ जना बच्चाको हत्यारासँग एउटै मञ्चमा डिबेट गर्न सकिन्न : बालेन शाह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) ले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक बहस गर्न अस्वीकार गरेका छन्। ओलीले सार्वजनिक बहसका लागि तयार रहेको अभिव्यक्ति दिएपछि शाहले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन्।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाह र ओली दुवै एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्। भावी प्रधानमन्त्रीका उम्मेदवारहरूलाई एउटै मञ्चमा राखेर नीति, योजना र दृष्टिकोणबारे बहस गरिनुपर्ने माग उठिरहेका बेला शाहको अस्वीकारले राजनीतिक माहोल थप तातेको छ।

ओलीले सामाजिक सञ्जालमा ‘देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा’ भन्दै सार्वजनिक डिबेट आवश्यक रहेको बताएका थिए। उनले पारदर्शी बहसले मतदातालाई नेताहरूको वास्तविक एजेन्डा बुझ्न सहयोग पुग्ने दाबी गरेका थिए।

तर ओलीको यही अभिव्यक्तिलाई लक्षित गर्दै बालेन शाहले गम्भीर आरोपसहित बहस अस्वीकार गरे। उनले ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको त्यस अपराधलाई स्वीकारेजस्तै हुने’ टिप्पणी गरेका छन्।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाबाट बालेन्द्र शाह, एमालेबाट केपी शर्मा ओली र नेपाली कांग्रेसबाट सभापति गगन थापालाई प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्