काठमाण्डौ – उम्मेदवारविरुद्ध दर्ता परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गरिरहेको छ। आयोगका अनुसार आज बेलुकी ५ बजेसम्म उजुरीसम्बन्धी निर्णय गरिनेछ। आयोगको कार्यसूचीअनुसार आजै बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिने छ। भोलि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
भोलि नै दिउँसो ४ बजेदेखि बेलुकी ७ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ। फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी परेको आयोगले जनाएको छ।
उजुरी पर्नेमा रौतहटबाट उम्मेदवारी दिएका नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कैलाली क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, भक्तपुर–२ बाट रास्वपाका उम्मेदवार राजीव खत्री, नेपाल जनसेवा पार्टीबाट भक्तपुर–२ कै उम्मेदवार जानुका पाठक तथा रास्वपाबाट सुनसरी–२ का उम्मेदवार लालविक्रम थापा रहेका छन्। आयोगले हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी सङ्कलन गरेको थियो।
यसैबीच निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि उजुरीका आधारमा मात्र नभई आफ्नै अनुसन्धानका आधारमा पनि कारबाही गर्ने चेतावनी दिएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगका संयन्त्रबाट प्राप्त प्रतिवेदन तथा उजुरीका आधारमा अध्ययन गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ। उजुरी नपरे पनि आचारसंहिताविपरीत कार्य भए स्वअध्ययनमार्फत कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो।










प्रतिक्रिया दिनुहोस्