काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आउँदो फागुन २१ गते हुने मतदानको तयारी अन्तिम चरणमा पुगेको छ । यसैक्रममा आज देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकै दिन उम्मेदवारी दर्ता हुँदैछ । प्रमुख राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाइसकेका छन् । केही विवादित क्षेत्रका उम्मेदवार भने आज बिहानसम्म टुंग्याउने तयारी कांग्रेसलगायत दलहरूको छ ।
शीर्ष नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन् भने टिकट पाएका धेरैजसो उम्मेदवार पनि सम्बन्धित क्षेत्रमा पुगेका छन् ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व तथा सहसंयोजक माधवकुमार नेपाल रौतहट पुगिसक्नुभएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरिसक्नुभएको छ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह मनोनयन दर्ताका लागि झापा पुग्नुभएको छ भने सभापति रवि लामिछाने चितवनतर्फ जाँदै हुनुहुन्छ । निर्वाचन कार्यालयले मनोनयन दर्ताको समय तालिका तोकिसकेको छ । निर्वाचन आयोगले मनोनयन दर्ताका क्रममा तडकभडक नगर्न दल र उम्मेदवारलाई आग्रह गरेको छ । आचारसंहिता लागू भइसकेकाले यसको पूर्ण पालना गर्न आयोगले निर्देशन दिएको छ ।
आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता हुनेछ । बेलुका ५ बजेदेखि ७ बजेसम्म प्रारम्भिक उम्मेदवार सूची प्रकाशन गरिनेछ । मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने समय भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । उजुरी र मनोनयनपत्रमाथि जाँचबुझ गरी आयोगले पर्सि बिहीबार बेलुका ५ बजेसम्म निर्णय गर्दै उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।
शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम उम्मेदवार सूची प्रकाशित गरिनेछ । शुक्रबार नै दिउँसो ४ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभर मतदान हुनेछ ।










प्रतिक्रिया दिनुहोस्