images
images

देउवाको क्षेत्रमा नैनसिंह महर, नवलपुर–१ मा गजेन्द्रबहादुर आले

काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयनमा ठूलो परिवर्तन गरेको छ । पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा यसपटक देउवाको सट्टा नैनसिंह महरलाई उम्मेदवार बनाइएको छ । पार्टीबाट टिकट लिन बोलाइएका महरले नेपालखबरसँग कुराकानी गर्दै उम्मेदवार बनाइएको पुष्टि गरेका हुन् । महर नेविसंघका पूर्वअध्यक्ष हुन् । यस अघि देउवाले यसपटक आफू  चुनाव नलड्ने सार्वजनिक रूपमा बताइसकेका थिए ।

२०४८ सालदेखि डडेल्धुराबाट निरन्तर निर्वाचन लड्दै आएका देउवालाई यसपटक चुनाव नलड्न सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आग्रह गरेका थिए । विशेष महाधिवेशनमार्फत कांग्रेसको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएपछि उम्मेदवार चयनमा पनि पुरानो संरचना तोडिएको पार्टी स्रोतले जनाएको छ ।

यसैगरी, अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका नेता डा. शशांक कोइरालाको निर्वाचन क्षेत्र नवलपुर क्षेत्र नम्बर १ मा यसपटक कांग्रेसले गजेन्द्रबहादुर आलेलाई उम्मेदवार बनाएको छ । गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस संसदीय बोर्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोइरालाको सट्टा आलेलाई टिकट दिएको हो । गैँडाकोट नगरपालिका–१२ निवासी आले कांग्रेसका महासमिति सदस्य हुन् । उनी गत स्थानीय तह निर्वाचनमा गैँडाकोट नगरपालिकाको मेयर पदका उम्मेदवार थिए तर पराजित भएका थिए । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नवलपुर–१ बाट कांग्रेस नेता डा. शशांक कोइराला विजयी भएका थिए ।

विशेष महाधिवेशनपछि कांग्रेसले उम्मेदवार चयनमा पुस्तान्तरणको नीति अपनाउँदै आएको देखिएको छ । पार्टी नेतृत्व परिवर्तनसँगै निर्वाचन रणनीति र उम्मेदवार छनोटमा पनि नयाँ अभ्यास सुरु गरिएको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्