काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका छन्। निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भए पनि उनले अन्ततः चुनावी प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका हुन्।
कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानमा राख्दै खड्काले उम्मेदवारी नदिने निष्कर्षमा पुगेको बताइएको छ। यद्यपि, उनले चुनाव नलडे पनि पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन्।
नेता खड्काले आगामी निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित गर्न देशभर प्रचार–प्रसार अभियानमा सहभागी हुने बताएका छन्। पार्टी संगठन सुदृढीकरण र मतदातामाझ कांग्रेसका एजेन्डा पुर्याउन आफू पूर्ण रूपमा सक्रिय रहने उनको भनाइ छ।
खड्काको यो निर्णयलाई कांग्रेसभित्रको रणनीतिक कदमका रूपमा हेरिएको छ। पार्टी नेतृत्वले पनि उनको अनुभव र प्रभावकारी भूमिकालाई चुनावी अभियानमा उपयोग गर्ने तयारी गरेको स्रोतहरूले जनाएका छन्।












प्रतिक्रिया दिनुहोस्