images
images

उम्मेदवार चयन र मनोनयन प्रक्रिया रोक्न माग गर्दै देउवा पक्ष निर्वाचन आयोगमा

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित उम्मेदवार चयन तथा मनोनयन प्रक्रियालाई तत्काल स्थगन गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन्।

विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा देउवा पक्षले आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। सोही रिटको प्रतिलिपिसहित निर्वाचन आयोगमा पुगेर सर्वोच्च अदालतको अन्तिम फैसला नआएसम्म निर्वाचनसम्बन्धी सबै कार्यक्रम रोक्न माग गरिएको हो।

निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार निर्वाचन आयोगले नेपाली कांग्रेसको आन्तरिक विवादमा अवैधानिक र बदनीयतपूर्ण निर्णय गरेको आरोप देउवा पक्षको छ।

देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटमा उम्मेदवार चयन प्रक्रिया रोक्न, निर्वाचन आयोगले विशेष महाधिवेशनपछि दिएको मान्यता बदर गर्न र उक्त महाधिवेशनबाट निर्वाचित कार्यसमिति भंग गर्न माग गरिएको छ।

यसका साथै प्रतिनिधिसभा निर्वाचनको मनोनयन प्रक्रिया स्थगन गर्न र नयाँ मनोनयन मिति तोक्न परमादेशको माग पनि रिटमा समावेश गरिएको छ।

नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद उत्कर्षमा पुगिरहेका बेला देउवा पक्षको यो कदमले निर्वाचन प्रक्रिया थप जटिल बन्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्