images
images

पुस २७–२८ मा काठमाडौँमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन, १८ उपसमिति गठन

काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा दोस्रो विशेष महाधिवेशन गर्ने औपचारिक घोषणा गरेका छन्। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन भृकुटीमण्डपमा आयोजना हुने जानकारी दिइएको हो।

विशेष महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार तथा प्रचार उपसमितिका संयोजक सुवास पोखरेलले पत्रकार सम्मेलन गरी महाधिवेशनको मिति, स्थान र तयारीसम्बन्धी विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न क्षेत्रको जिम्मेवारी बाँडफाँड गर्दै १८ वटा उपसमिति गठन गरिएको छ।

पोखरेलले विशेष महाधिवेशन पार्टीको वर्तमान अवस्था, संगठन सुदृढीकरण र भावी राजनीतिक दिशाबारे छलफल तथा निर्णयका लागि महत्वपूर्ण हुने बताए। उनले महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाइएको र सबै पक्षलाई सहभागी हुन आह्वानसमेत गरे।

विशेष महाधिवेशन पक्षधरका अनुसार महाधिवेशनमार्फत पार्टीभित्र देखिएका असहमति, संगठनात्मक चुनौती र नेतृत्वसम्बन्धी विषयमा खुला बहस हुने अपेक्षा गरिएको छ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा नेताहरूको सहभागिता रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्